खेलकुदमन्त्रीद्वारा ‘२० औं राईट दि हिमालयन रेस–२०१८’ का विजेता साह सम्मानित

admin

काठमाडौँ, ८ कात्तिक: गत असोज २४ देखि २७ गतेसम्म आयोजना गरेको २०औँ राइट दि हिमालयन रेस–२०१८ को उपाधि जितेका धनुषाका दीपक साहलाई आज यहाँ सम्मान गरिएको छ ।

नेपाल कलवार कल्याण समिति काठमाडौँले आज यहाँ आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा खेलकूद पर्यटन र साहसिक खेलको विकासका लागि सरकार लागिरहेको उल्लेख गर्दै खेल क्षेत्रलाई विभिन्न शीर्षकमा राखेर भए पनि विकास गरिने बताउनुभयो । हिमाल, पहाड र नदीका तीरमा साहसिक खेलकूदको सम्भाव्यता अध्ययन शुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री डा डम्बरनारायण यादव, नेपाली काङ्ग्रेस नेता भरत खड्का, नेपाल–भारत पुस्तकालयका प्रमुख महेश शर्मालगायतले साहलाई बधाई दिँदै सरकारले यस्ता प्रतिभाको कदर गर्नुपर्नेमा जोड दिनुभयो । विजेता साहले नेपालमा पनि साहसिक खेलकूद प्रतियोगिता गर्न सकिने र त्यसका बारेमा आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रेसको २०औँ संस्करणमा नेपालबाट प्रतिनिधित्व गर्नुभएका साहले भारतको लेह, लदाख, कारगिल र काश्मिरमा सम्पन्न प्रतिस्पर्धामा बाइक चलाउँदै गरेको आफ्नो अनुभव सुनाउनुभएको थियो ।
-रासस

प्रतिक्रिया