खेलकूदलाई अनुशासित र मर्यादित बनाउनुपर्छ : मन्त्री शाह

शर्मिला गुरुङ

काठमाडौँ, १८ असार : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रत्येक खेलाडीले खेलकूदमा सिकेको अनुशासनलाई आत्मसात् गर्दै खेल क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै लैजानुपर्ने बताउनु भएको छ ।

जिल्ला खेलकूद विकास समिति बाजुराले आयोजना गरेको ११औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री शाहले खेलाडीले खेल प्रदर्शन गर्दा अनुशासन, गतिशीलता र मर्यादित भएर खेल खेल्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “दुर्गम तथा पिछडिएको क्षेत्र बाजुरलाई खेलकूदको माध्यमबाट राष्ट्रियस्तरमा पहिचान बनाउनु आवश्यक रहेको छ ।”

खेलकूद क्षेत्रलाई विकास गर्दै लैजान जिल्लाका सबै स्थानीय तहले दृढतापूर्वक लगानी गर्न मन्त्री शाहले आग्रह गर्नुभएको छ । उहाँले सुदूरपश्चिम प्रदेशको पिछडिएका रुपमा रहेको बाजुरालाई सडक, शिक्षा, सञ्चारलगायतका क्षेत्रबाट परिवर्तन गर्ने अठोट गर्नुभयो ।

यस्तै सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य बलदेव रेग्मीले खेल क्षेत्र सम्मानजनक भएकाले सबै खेलाडीले अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रह गर्नुभएको छ । उहाँले खेलमा सीप दक्षता र क्षमता प्रदर्शन गरी विवादरहित खेल बनाउनुपर्नेमा रेग्मीले जोड दिनुभएको छ ।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले स्वच्छ प्रतिस्पर्धाका आधारमा कुनै विवाद नहुने गरी खेल खेल्न र निर्णायकलाई खेल खेलाउन आग्रह गर्नुभएको छ । उहाँले खेलकूद प्रतियोगितामा संयमित र खेलकूदको नीति परिधिमा रहेका जिम्मेवारी बहन गर्नुपर्नेमा समन्वय प्रमुखले जोड दिनुभयो ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले खेल खेल्दा खेलाडीले सभ्य भएर खेल प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ । उहाँले खेलकूद विना विकाससमेत सम्भव नभएकाले विकासका लागि खेल पनि आवश्यक रहने बताउनुभयो । खेल क्षेत्रमा लगानी भएअनुसारको प्रतिफल आउनुपर्ने नगर प्रमुख बडुवालको भनाइ रहेको छ ।

जिल्ला खेलकूद विकास समिति बाजुराले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लामा नौ वटै स्थानीय तहका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हिक्मतबहादुर थापाले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार आजदेखि शुरु भएको सो प्रतियोगिता २० गतेसम्म सञ्चालन हुने बताउनुभयो ।

प्रतियोगितामा एथ्लेटिक्स, दौड, भलिबल, हाइजम्प, लमजम्प, सटफुटलगायतका खेल खेलाइने अध्यक्ष थापाले बताउनुभयो । रासस

प्रतिक्रिया