खोप अभियान र परीक्षणलाई प्रभावकारी बनाउन बाइडेनद्वारा आदेश जारी

admin

एजेन्सी, ९ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका कार्यकारी आदेश जारी गरेका छन् । उनले खोप अभियान र परीक्षणलाई बढाउने सम्बन्धी कार्यकारी आदेश जारी गरेका हुन् । राष्ट्रपति बाइडेनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका बीबीसीले जनाएको छ ।

मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने पनि कार्यकारी आदेशमा उल्लेख गरिएको छ । कोरोना नियन्त्रणका लागि १० वटा उपायहरूको घोषणा गर्दै बाइडेनले महामारी नियन्त्रण गर्न महिनौँ लाग्ने तर यदि मानिसहरू एकताबद्ध भए अमेरिकाले यसलाई परास्त गर्ने दाबी गरे ।

उनले अबको एक सय दिनमा सुरक्षित तरिकाले विद्यालय खोल्ने, अनि रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्ने बताएका छन् । अब अमेरिका जान चाहनेले त्यहाँ जानु अगावै कोरोना भाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्छ अनि त्यहाँ पुगेपछि १४ दिन स्वयम् क्वरेण्टीनमा रहनुपर्छ ।

यसअघि ट्रम्प प्रशासनलाई महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोप लागेको थियो । ट्रम्प प्रशासनको नीतिभन्दा बेग्लै बाइडेन प्रशासनले महामारीसँग जुझ्न राज्यहरूमा भर पर्नुभन्दा एउटा राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ । सबै सङ्घीय परिसरमा मास्क तथा भौतिक दूरी अनिवार्य गरिएको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता
राष्ट्रपति वाइडेनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

यसअघि निवर्तमान राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । यस कदमलाई वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ । अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयसले धन्यवाद दिएका छन् ।

विश्वभरि स्वास्थ्य महामारी चलिरहेका बेला डब्ल्यूएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्बन्धलाई जोडेको बताएको छ ।

प्रतिक्रिया