खोप खरिदमा अनियमितता भएको छैन, स्वास्थ्य सङ्कटकालमा जानुपर्ने अवस्था आउन सक्छ : मन्त्री त्रिपाठी

admin

काठमाडौं, २८ बैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीका कारण देशव्यापी लकडाउन वा स्वास्थ्य सङ्कटकालमै जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री त्रिपाठीले कोरोना भाइरस नियन्त्रणका लागि अहिलेका काम पर्याप्त नभएको भन्दै नयाँ कदमहरू आवश्यक पर्ने बताए ।

नयाँ कदमका बारेमा सरकारले सामूहिक रूपमा छलफल गरेर निर्णय लिने उनले बताए । मन्त्री त्रिपाठीले अक्सिजनको प्रयोग धेरै बढेकाले माग र उत्पादन क्षमताबीच ठूलो फरक आइ समस्या भएको बताए । यसबीचमा कतिपय अस्पतालमा बिग्रेका अक्सिजन प्लान्टलाई सञ्चालनमा ल्याए पनि मागअनुसार आपूर्ति गर्न नसकिएको उनले बताए ।

मन्त्री त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रियामा कसैलाई कमिसन दिने र कसैबाट कमिसन लिने काम नभएको दाबी गरे । उनले कोरोनाविरुद्धको खोप चार डलरमा खरिद गरिएको र त्यति रकममा कसैले दिने भए सरकार एक करोड खोप किन्न तयार रहेको बताए ।

उनले खोप खरिदको बारेमा तथ्य विना नबोल्न पनि आग्रह गरे । खोप खरिद गरिसके पनि भारतमै अभाव भएका कारण उसले निर्यात बन्द गरेर नेपालमा पनि खोप ल्याउन समस्या भएको मन्त्री त्रिपाठीको भनाइ छ ।

प्रतिक्रिया