खोरेतको औषधि अभाव, दिनप्रतिदिन पशुवस्तु मर्न थाले

राष्ट्रिय समाचार समिति

हुम्ला, १४ साउन : एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ । जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ मा रहेको लेकमा खर्कमा वर्षा लागेसँगै पाटनमा चरिचराउ गर्न लगिएका दुई दर्जनभन्दा बढी पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेपछि पशु मरेका छन् ।



वडा नं ५ दुर्पागाउँ निवासी पशुपालक कृषकले गाउँभन्दा टाढा रहेका खर्कमा लगेका पशुवस्तु यतिबेला मर्न थालेको दुर्पागाउँ निवासी देवसिंह रोकायाले बताउनुभयो । यसरी पशुवस्तुमा देखापरेको रोगले दुई दर्जन पशु मर्दा पशुपालक कृषकलाई ठूलो नोक्सानी भएको उहाँले जानकारी दिनुभयो । यसैगरी जिल्लाको सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको चुवाखोलामा पनि भेडाबाख्रामा यो रोग देखापरेको छ । खार्पुनाथ गाउँपालिकामा पशुचौपायलाई उपचारका लागि औषधि भए पनि स्वास्थ्यकर्मी नभएको र कर्मचारी समायोजनका कारण समस्या भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो ।

रावलका अनुसार एक गाउँ एक प्राविधिकलाई गाउँबाटै बजेटको व्यवस्था गरेर रोग प्रभावित क्षेत्रमा पठाउने तयारी भएको बताउनुभयो । रोगको उपचारका लागि गाउँपालिकामा पशु स्वास्थ्य शाखामा कर्मचारी अभाव भएकाले पशुवस्तुलाई भ्याक्सिनसहितको उपचारको टोली तत्काल उक्त स्थानमा पठाउन समस्या भएको अध्यक्ष रावलले जानकारी दिनुभयो । सर्केगाड गाउँपालिकामा पनि महामारी फैलिन नदिन जिल्लाका लेकमा रहेका विभिन्न खर्कमा स्थानीय निकाय लागिपरेको सर्केगाड गाउँपालिका अध्यक्ष करन रोकायाले जानकारी दिनुभयो ।

एउटै वडामा पाँचपशु मरे
सिमकोट गाउँपालिका–७ मा जिब्रेन, खोरेत रोगले पाँच गाईवस्तु मरेका छन् । एक महीनादेखि देखापरेको यो रोगबाट पशुवस्तु मर्न थाले पनि औषधिको अभाव भएको गाउँपालिका पशु स्वास्थ्य शाखाले बताएको छ । गाउँपालिकाको पशु स्वास्थ्य शाखामा दुई प्रकारको औषधि मात्रै हुँदा किसानले निजी मेडिकलबाट महङ्गो औषधि किनेर लिनुपरेको स्थानीय मन्दिर सिंहले जानकारी दिनुभयो ।

पशु स्वास्थ्य शाखामा औषधि नहुँदा खाली भएको सिरिन्ज लिएर गाउँपालिकाबाट फिर्ता हुनुपरेको अर्का किसान हरिबहादुर शाहीले दुखेसो गर्नुभयो । गाउँमा फैलिएको रोगका कारण पशुवस्तु मर्नुका साथै बिरामी पशुवस्तु थला पर्न थालेका छन् । वडा नं ७ मा शान्ति शाहीको एउटा जुमा, शीरबहादुर शाहीका दुई गाई, अजय शाहीको एक झोपा एउटा गाईसहित दुई बाछा मर्दा रु दुई लाखभन्दा बढी क्षति भएको उहाँले जानकारी दिनुभयो । हुम्लामा एउटा जुमाको मूल्य रु ७० हजारसम्म पर्ने गर्दछ भने गाईको रु ३० हजार पर्ने गरेको छ ।

सर्केगाड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा दुई दर्जन पशुवस्तु मर्दा रु पाँच लाखभन्दा बढी क्षति पुगेको किसान देवसिंह रोकायाले जानकारी दिनुभयो । सिमकोट गाउँपालिका पशु शाखाका प्रमुख हिराजन शाहीले नयाँ आर्थिक वर्ष लागेकाले औषधि अभाव भएको बताउनुभयो । उहाँले आठवटै वडाका पशुपालक कृषकले फैलिएको रोगको बारेमा जानकारी दिन नआएको र औषधिमात्रै माग्न आएको बताउनुभयो ।

स्थानीय निकायमा सोझै बजेट आउँदा खोरेत रोगलगायतका रोगको पहिचान, रोकथाम, उपचार र जैविक सुरक्षासम्बन्धी प्रचारप्रसार गर्दै किसानस्तरसम्म पठाइने गरिएको भनिए पनि पशु स्वाथ्यकर्मीकै अभावले अहिले रोग प्रभावित क्षेत्रमा पशु स्वास्थ्यकर्मी पठाउन नसकिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया