गरिब नागरिकलाई निःशुल्क बिजुली दिन सरकार तयार छ : ऊर्जा मन्त्री भुसाल

admin

काठमाडौं, ११ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको मूल्य घटाउनुपर्ने बताएकी छिन् । मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री भुसालले देशमा बिजुली खपत भएन भनेर चिन्ता लिइरहँदा बिजुलीको महसुलबारे पनि सोच्नुपर्ने बताएकी हुन् ।

अरू क्षेत्रमा उत्पादन बढ्दै जाँदा मूल्य घट्ने तर ऊर्जा क्षेत्रको उत्पादन बढ्दै जाँदा मूल्य नघट्ने विषय असुहाउँदो भएको भन्दै मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना बनाउनुपर्ने र आफूले पनि यो विषयमा सल्लाह सुरु गरिसकेको बताइन् ।

उनले बिजुली खपत बढाउनका लागि मूल्य घटाउने र ग्यासको विकल्पमा प्रयोग बढाउनका लागि विद्युतीय सामग्रीको भन्सार छुटको सहुलियत दिनुपर्ने बताइन् । मन्त्री भुसालले गरिब नागरिकलाई निःशुल्क बिजुली दिन सरकार तयार रहेको पनि बताएकी छिन् ।

उनले अहिले पनि कतिपय नागरिकले महसुल तिर्न नसकेकै कारण बिजुली जोड्न नसकेको बताउँदै त्यस्ता नागरिकलाई सरकारले निःशुल्क बिजुली दिने दाबी गरिन् । राष्ट्रिय प्रसारण पुगेका र छिटै पुर्‍याउन सकिने ठाउँमा राष्ट्रिय प्रसारण लाइनकै बिजुली दिइने र तत्काल सम्भव नभएका ठाउँमा लघु जलविद्युत् या वैकल्पिक ऊर्जाको व्यवस्था गरिने उनले बताइन् ।

उद्योगहरूको मागअनुसार बिजुली दिन सकेमा खपत बढ्ने तर त्यसका लागि प्रसारण लाइन र सबस्टेशनको समस्या भएकाले त्यसतर्फ ध्यान दिएर काम गर्ने मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

प्रतिक्रिया