गरीबीका कारण श्रीमानले आत्महत्या गरेपछि श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली

रिता घिसिंग

गलेश्वर, १४ जेठ : दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका अमबहादुर राम्जालीले गरीबीका कारण आत्महत्या गरेपछि उहाँको परिवार बिचल्लीमा परेको छ । चरम गरीबीका कारण छोराछोरीलाई पेटभरि खानसमेत दिन नसकेको पीरले राम्जालीले आत्महत्या गरेपछि श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली भएको हो ।

सांकेतिक तस्बिर

दुई वर्षअघि लोग्नेले यो संसार छाडेर गएपछि छिमेकीको घरमा बस्दै आएकी अमबहादुरकी श्रीमती डल्लीले पाँच छोराछोरीलाई बिहान–बेलुकी हातमुख जोड्न र विद्यालयमा पढाउन निकै समस्या भएको बताउनुभयो ।

बिदा र फुर्सदको समयमा गाउँमा काम गरेर सङ्कलन गरेको पैसाले घरखर्च र शैक्षिक सामग्री खरीद गर्ने गरेको कैशाल माविको कक्षा १० मा अध्ययरत रामजालीकी छोरी कुशुमले बताइन् । “अर्काको घरमा बस्छौँ, चुल्होमा मिठो खानेकुरा पाक्दैन”, उनले भनिन् । उनले छिमेकी र आफन्तलाई मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको बताइन् ।

गरीबीको कारण जेठी छोरी कुमारी राम्जालीले एसइई उत्तीर्ण गरेपछि पढाइ छाडेर घरखर्च जुटाउन दैनिक छिमेकीको खेतमा काम गर्ने गरेकी छन् । कुमारीले भाइबहिनीको पढाइलाई निरन्तरता दिन ज्याला मजदूरी गर्नुपरेको वडा सदस्य मनकुमार गर्बुजाले जानकारी दिनुभयो ।

गाउँलेको खेतबारी तथा मेलापर्वमा काम गरेर कुमारीले खर्ज जुटाउने गर्नुभएको छ । उहाँका अनुसार कुमारी पढाइमा समेत अब्बल भए पनि गाउँबाट उच्च शिक्षाका लागि सदरमुकाम जान सक्ने अवस्था नभएकाले घरमै बसेर मेलापात गरी आमा र भाइ बहिनीको हेरचाह गर्नुभएको हो । कुमारीको ज्याला मजदूरीबाट कुसुमले कक्षा १०, कुमारले कक्षा आठ, करिना कक्षा चार र काजल कक्षा चारमा पढ्दै आएका छन् । करिना र काजल जुम्ल्याहा हुन् ।

पढ्ने वातावरण भएमा राम्जालीका छोराछोरी पढाइमा अब्बल रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर गर्बुजाले बताउनुभयो । उहाँले विद्यालयबाट समेत आवश्यक सहयोग गर्ने गरेको बताउनुभयो । “उनीहरूलाई सहयोगको आवश्यकता छ, आफ्नो खर्च आफँै जुटाउनुपर्ने अवस्थामा छन्”, गर्बुजाले भन्नुभयो ।

द्वन्द्व प्रभावितका लागि सहयोग वितरण
पोखरामा मुख्य कार्यालय रहेको ‘कोपिला नेपाल’ नामक संस्थाले म्याग्दीका द्वन्द्व प्रभावित परिवारलाई शैक्षिक र आर्थिक सहयोग गरेको छ । सदरमुकाम बेनी र पश्चिम म्याग्दीको दरवाङका गरी १७ द्वन्द्व प्रभावितका बालबालिकालाई प्रतिव्यक्ति रु एक हजार ५०० बराबरका शैक्षिक सामग्री र १५ द्वन्द्व प्रभावित परिवारलाई प्रतिव्यक्ति रु आठ हजारका दरले आयआर्जनका लागि सहयोग गरिएको कोपिला नेपालका सामाजिक सहजकर्ता भुवन सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाले दिएको जानकारीअनुसार जिल्ला प्रशासन कार्यालयबाट प्राप्त द्वन्द्व प्रभावितका तथ्याङ्कका आधारमा स्थानीय जनप्रतिनिधिको रोहवरमा सहयोग सामग्री र रकम वितरण गरिएको हो । सोही अवसरमा बालबालिका र द्वन्द्व प्रभावितलाई मनो–सामाजिक तालीम पनि प्रदान गरिएको थियो ।रासस

प्रतिक्रिया