गाईपालनबाट मासिक दुई लाख आम्दानी

admin

पाल्पा, १५ कात्तिक : गाईपालन थालेपछि यहाँका युवाले मासिक रु ५० हजारदेखि रु दुई लाख आम्दानी गर्न सफल भएका छन् । तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मीले मासिक रु ७० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

विसं २०६७ मा साउदी अरबबाट फर्केर गाईपालन व्यवसाय शुरु गर्नुभएका रेश्मीसँग हाल १७ गाई छन् । दश गाई दुहुना छन् । गाईले दैनिक ५० लिटर दूध दिन्छ । दूध बेचेको आम्दानीले पाँच जनाको परिवारको खर्च चलेको छ । गाईपालनबाट रेश्मी परिवार सन्तृष्ट छ ।

चिनारीका रुकवीर रेश्मी बराइनबाट फर्केर २०६७ सालदेखि गाईपालन गर्दै आउनुभएको छ । उहाँले मासिक रु डेढ लाख आम्दानी गर्दै आउनुभएको छ । रेश्मीले भन्नुभयो, “गोठमा ३२ उन्नत जातका गाई छन् । दैनिक ११० लिटर दूध उत्पादन हुन्छ ।’ चिनारीकै देवीबहादुर रानाले साइप्रसबाट फर्केर गाईपालन थाल्नुभएको छ । एघार मध्ये पाँच गाईले दैनिक ३५ लिटर दूध दिन्छन् । मासिक रु दुई लाखसम्म आम्दानी हुन्छ । गाईपालनसँगै उहाँले बहुबाली खेती थाल्नुभएको छ । चिनारीबाट दैनिक ५५० लिटर दूध तानसेन खपत हँुदै आएको छ । मासिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी हुन थालेपछि युवा गाईपालनतर्फ आकर्षित भएका हुन् । चिनारीका ३० परिवारले गाईपालन गर्दै आएका छन् । सो व्यवसायबाट यहाँका युवाले मनग्य आम्दानी गर्न थालेका छन् ।रासस

प्रतिक्रिया