गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनालाई म्याद थप

शर्मिला गुरुङ

काठमाडौँ, १५ भदौ : जिल्ला अदालत सुर्खेतले गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनाको अनुसन्धानका लागि एक हप्ताको म्याद दिएको छ ।

सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलमा भीरबाट खसालेर ३५ गाई–गोरु मारेको अभियोगमा शुक्रबार पक्राउ परेका ट्रकका चालक÷सहचालक गरी सात जनाबारे थप अनुसन्धान गर्न अदालतले आज एक हप्ताको म्याद दिएको हो । जिल्ला प्रहरी कार्यालयले चितवनको राप्ती नगरपालिका–४ का विवेक कुँवर, अछामको तुर्माखाँद गाउँपालिका–३ का कृष्ण विसी, चितवनको राप्ती नगरपालिका–५ का सागर विश्वकर्मा, रौतहटको चन्द्रपुर नगरपालिका–२ का दामोदर केसी, बाँकेको कोहलपुर नगरपालिका–१४ का हिमबहादुर जीसी, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम सरावल–१ का शत्रुधन चौधरी र सोही ठाउँकै अमृत चौधरीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले नियन्त्रणमा लिएका पाँच ट्रकका चालक÷सहचालकसँग घटनाबारे सोधपुछ गरिरहेको बताउनुभयो । “शव परीक्षण रिपोर्ट आउन बाँकी छ, नेपालगञ्ज उपमहानगरपालिका र कान्जी हाउससँग बुझ्दैछौँ,” उहाँले भन्नुभयो, “दैलेखको शिरस्थान क्षेत्रमा मगाइएको हो या होइन त्यसबारे पनि बुझ्ने काम हुँदैछ, विस्तृत अनुसन्धान गरी दोषीउपर मुद्दा चलाइनेछ ।”

प्रहरीले हालसम्म ३५ गाई–गोरुको मृत्यु भएको जनाएको छ । त्यस्तै जीवित १९६ गाई–गोरुको उद्वार गरी कान्जी हाउसमा फिर्ता पठाइसकेको र बाँकीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ फुलटेक्रा र बेतनी बीचमा रहेको कान्जी हाउसबाट दैलेखको शिरस्थानसम्म पु¥याउने भनी ल्याइएका गाई–गोरु शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नजिकको जङ्गलमा मृत भेटिएका थिए । ठूलो सङ्ख्यामा गाई–गोरु मृत र बेवारिसे अवस्थामा भेटिएपछि प्रहरीले ढुवानी गर्ने ट्रकका चालक÷सहचालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको हो ।

मुलुकी अपराध संहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान छ । अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको व्यवस्था छ ।रासस

प्रतिक्रिया