गाई तस्करी गर्ने दुई जना पक्राउ

राष्ट्रिय समाचार समिति

नुवाकोट, २२ भदौ : अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।


बट्टारबाट किस्पाङ गाउँपालिका–३ काउलेका ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आइत तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ११ वटा गाईसमेत नियन्त्रणमा लिएको छ । बट्टारमा शनिबार एक गाई खाल्डोमा खसेर अड्किएको अवस्थामा नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरेका थिए भने एक गाई मृत फेला परेको थियो ।

पक्राउ परेकाले गाई पाल्नको लागि लैजान लागेको दाबी गरेको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा राखेको गाई आज काठमाडौँमा रहेको गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाको जिम्मामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया