गुजरातमा मास्क नलगाए १५ दिनसम्म कोरोना संक्रमितको सेवा गर्नुपर्ने

admin

काडमाडौं, १७ मंसिर : भारतको गुजरातमा मास्क नलगाएमा ५ देखि १५ दिनसम्म कोरोना सेन्टरमा काम गर्नुपर्ने भएको छ । गुजरात उच्च अदालतले मास्क नलगाउनेलाई कडा सजायको फैसला गर्दै, मास्क लगाउनु पर्ने नियम उल्लंघन गर्नेलाई कोरोना संक्रमितहरु राख्ने आइसोलेसन केन्द्रहरुमा सेवा गर्नुपर्ने सजायको व्यवस्था गरेको हो ।

मुख्य न्यायाधीश विक्रम नाथ र न्यायाधीश जेबी पर्दीवालाको इजलासले मास्क लगाउनुपर्ने नियम उल्लंघन गर्नेलाई सामुदायिक सेवाको सजाय तोकेको हो । उनीहरुले गैर चिकित्सकीय सेवा (सरसफाई) लगायत गर्नुपर्नेछ । यस्तो सजाय पाँचदेखि १५ दिनसम्म र दैनिक ४-६ घण्टा गर्नुपर्ने जनाइएको छ ।

अदालतले एक जनहित याचिकाको सुनुवाई गर्दै दिएको हो । जसमा मास्क लगाउनुपर्ने नियम उल्लंघन गर्नेलाई कोरोना संक्रमित हेरचाह केन्द्रमा सामुदायिक सेवा अनिवार्य गर्न माग गरिएको थियो । भारतको गुजरातमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार २५७ पुगेको छ । त्यहाँ हालसम्म ४ हजार ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया