गुटका आधारमा भविष्य देख्न छाडौँ : प्रवक्ता श्रेष्ठ

राष्ट्रिय समाचार समिति

कास्की, १३ फागुन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा सोचेर काम गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा आज पोखरामा उहाँले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्दै शक्तिशाली कम्युनिष्ट पार्टीले देश र जनताका पक्षमा उल्लेख्य काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै सामाजिक न्यायसहितको समृद्धिको वस्तुगत चाहनाले मात्र एकता सम्भव भएको हो । गुटबन्दीको संस्कारलाई अन्त्य गरी पार्टीलाई अघि बढाउनु आवश्यक छ । गुटका आधारमा भविष्य देख्न थालियो भने त्यो भुल हुनेछ ।”

पार्टीका हरेक सदस्यले एकताको मर्म र भावअनुसार कम्युनिष्ट संस्कार र आचरण अनुसरण गर्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले सरकारले केही कठिनाइका कारणले आशातित काम गर्न नसकेपनि अब जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्ने र सरकारलाई सफल बनाइ छाडिने दृढता व्यक्त गर्नुभयो ।

पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले तीनमहिने कार्ययोजना बनाएको जानकारी दिँदै उहाँले पार्टी, सरकार र जनताको सम्बन्धलाई जीवन्त बनाइने बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीका नेता कार्यकर्ता जनताको घरदैलोमा पुग्दै पार्टी र जनताको सम्बन्ध सदृढ गर्ने तथा सरकारका गतिविधको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बैठकमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रस्तुत प्रतिवेदनका बारेमा विभिन्न १२ वटा समूह निर्माण गरी छलफल शुरु भएको प्रदेश कमिटी सदस्य रामजीप्रसाद बरालले जानकारी दिनुभयो । बैठकमा प्रदेशका ११ वटै जिल्लाका अध्यक्षले सङ्गठनात्मक अवस्था तथा गतिविधि सहितको प्रस्तुती बैठकमा राख्नुभएको थियो । बैठक बुधबार पुनः बस्ने बताइएको छ ।

प्रतिक्रिया