गुठी संस्थानका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

admin

काठमाडौं, पुस २० : गुठी संस्थान शाखा कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

धनुषा जिल्लाको साबिकको भरतपुर गाविसमा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा कीर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमिता र भ्रष्टाचार भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो। अनुसन्धानबाट तत्कालीन कार्यालय प्रमुख पाण्डेले १९ लाख ३० हजार मोहीहरूलाई मुआब्जा रकम भुक्तानी गरेबापत बिचौलियामार्फत घुस लिएको स–प्रमाण पुष्टि भएको अख्तियारको दाबी छ।

उनीविरुद्ध सोही रकम बरावरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको माग गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनका अनुसार गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार आचार्यले समेत ६ लाख ५० हजार घुस लिएका पुष्टि भएको छ।

कार्यालयका तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल विरुद्ध उनले भ्रष्टाचार गरेको ४ लाख ३० हजार, विचौलिय सुमनकान्त ठाकुरविरुद्ध मोहीबाट पटक-पटक गरी ६३ लाख ३६ हजार, मोही भनिएकी गायत्री देवी जयसवालविरुद्ध ५६ लाख १ हजार र उनका छोरा शत्रुधन जयसवालविरुद्ध ७ लाख ३५ हजार, विगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय गरी गर्न मागदाबीसहित आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया