गुठी संस्थानसँग जानकारी माग

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ५ साउन: राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिले गुठी संस्थानसँग सांस्कृतिक सरोकारका विषयमा १७ बुँदे जानकारी माग गरेको छ ।संस्थानले सञ्चालन गर्ने गरेका जात्रा–पर्व एवं त्यससँग सम्बन्धित सम्पत्ति विवरण अध्ययन प्रयोजनको लागि भन्दै समितिले माग गरेको हो । त्रिपुरेश्वरस्थित संस्थानको कार्यालयमा समितिका संयोजक गणपतिलाल श्रेष्ठले आज अध्यक्ष मीनराज चौधरीलाई मागपत्र बुझाउँदै जानकारी माग गर्नुभएको छ ।

विसं २०२९ मा गुठी संस्थानको नाममा रहेको राज र छुट गुठी जग्गाको कित्ता नं, क्षेत्रफल र कूल सङ्ख्या, २०२९ सालमा गुठी संस्थाबाट सङ्कलित रकम र खर्च रकम, मालपोतमा राज गुठीको सम्पत्तिको रुपमा रहेको जग्गाको विवरण र हाल सो जग्गा के कामको लागि प्रयोग भइरहेको छ भन्ने जानकारी माग गर्दै पत्र बुझाएको संयोजक श्रेष्ठले बताउनुभयो ।

मालपोतमा छुट र निजी गुठीको सम्पत्तिको रुपमा रहेको जग्गाको विवरण र हाल सो जग्गा के कामको लागि प्रयोग भइरहेको छ, मालपोतमा गुठी रैतान नम्बरी जग्गाको रुपमा कति जग्गा दर्ता छन् सो जग्गाको विवरण र हाल तीबाट कति मालपोत गुठी संस्थानले असुल गरिरहेको छ भन्ने जानकारी माग गरिएको पनि उहाँले सुनाउनुभयो ।

विसं २०२९ र २०३३ सालसम्मको गुठी संस्थानको कूल सम्पत्ति, संस्थानको कूल सम्पत्ति, मोहियानी हक कायम भएको गुठी जग्गालगायत १७ बुँदे जानकारी माग पत्र बुझाइएको समितिले जनाएको छ । संस्थानका प्रवक्ता एवं सूचना अधिकारी सरोज थपलियाले सूचना माग भएको बताउनुहुँदै दिन मिल्ने जति सूचना दिइने जानकारी दिनुभयो । विसं २०२१ देखिको जानकारी माग गरिएकामा धेरै सूचना जिल्ला कार्यालयमा रहेको उहाँले बताउनुभयो । संस्थानका ६९ जिल्लामा कार्यालय छन् । छरिएर रहेका सूचना एकीकृत गरी दिन मिल्ने जति दिइने संस्थानले जनाएको छ । रासस

प्रतिक्रिया