गुण्डा नाइके ‘रमेश बाहुन’लाई १० वर्ष जेल सजाय

admin

काठमाडौं : पटक पटक आपराधिक क्रियाकलापमा जोडिँदै आएका गुण्डा नाइके सुजन पौडेल ‘रमेश बाहुन’लाई १० वर्ष लामो जेल सजाय भएको छ। लागूऔषध कारोबार तथा अवैध हातहतियार बन्दुक र गोली राखेको कसुरमा जिल्ला अदालत काठमाडौं १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसला आइतबार सुनाएको हो।

पौडेललाई जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले यस्तो सजाय सुनाएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन्। बाहुनलाई प्रहरीले २०७१ सालमा पक्राउ गरेयता थुनामै छन्। उनलाई न्यायाधीश दाहालको इजलासले लागुऔषधसम्बन्धी मुद्दामा १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको श्रेष्ठले जानकारी दिए। प्रहरीले नेपाली सेनाका भगौडा उनलाई २०७१ मा काठमाडौंको कलंकीबाट पेस्तोलसहित पक्राउ गरेको थियो।

प्रहरीले उनीविरुद्ध २०७१ साउन १४ गते लागुऔषध कारोबारमा मुद्दा चलाएको थियो। प्रहरीका अनुसार उनले भारतको लखनउमा रहेर नेपालमा आपराधिक क्रियाकलाप गर्दै आएका थिए। कलंकीबाट पक्राउ गरिएको भनिएका उनलाई त्यसबेला नेपाल प्रहरीले भारतीय प्रहरीसँग मिलेर लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियवश्र उनीविरुद्ध २०६४ वैशाख २९ गते व्यापारी सन्तोष अग्रवाललाई अपहरण गरेर पाँच लाख रुपैयाँ असुलेको आरोप थियो। बाहुनमाथि विवादित पृष्ठभूमिका कांग्रेस कार्यकर्ता मीनकृष्ण महर्जनलाई ललितपुरमा आक्रमण गरेको अभियोग पनि थियो।

प्रतिक्रिया