गृह र अर्थमा जान सचिवको दौडधूप, छनोट विधिमा योग्यता, अनुभव र कार्यसम्पादन हेरिएला ?

admin

काठमाडौं, १० माघ : सरकारी सेवामा सर्वाधिक शक्तिशाली र आकर्षक मानिएको गृह र अर्थ मन्त्रालयमा जान सचिवहरूले दौडधूप सुरु गरेका छन् । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र अर्थ मन्त्रालयका सचिव राजन खनाल आगामी २२ माघदेखि पाँचवर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुने भएपछि गृह र अर्थमा जान अन्य सचिवको दौडधूप शुरू भएको हो ।

राईको अवकाश हुनै लाग्दा गृह मन्त्रालयको सचिव बन्न महेश्वर न्यौपाने, यादवप्रसाद कोइराला, केदारबहादुर अधिकारी, सुरेश अधिकारी, रामकृष्ण सुवेदी, सूर्य गौतम र केदार न्यौपाने लागिपरेको स्रोतले जानकारी दिएको छ । धेरैको रोजाइ गृह मन्त्रालय नै छ । अर्थ मन्त्रालयमा भने हालका राजस्व सचिव शिशिरकुमार ढुंगाना र राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याल दौडधूपमा लागे पनि ढुंगानाको सम्भावना अत्यधिक छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य बोकेको सरकारले सर्वाधिक महत्वपूर्ण मन्त्रालयको प्रशासनिक नेतृत्व छनोट गर्दा हचुवा र लहडमा नभई निश्चित योग्यता, अनुभव र मापदण्डका आधारमा गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । देश संघीयताको संस्थागत विकासमा अघि बढिरहेकाले गृहमा आउने सचिवले मुलुकको समग्र सुरक्षा चुनौतीको मिहिन ढंगले विश्लेषण गर्दै चुनौतीका आन्तरिक र बाह्य पाटो पहिचान गर्न सक्ने, सुरक्षा निकायको प्रभावकारी ढंगले समन्वय र परिचालन गर्न सक्ने तथा सुरक्षासँग सम्बन्धित विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच पुलका रूपमा काम गर्न सक्ने ल्याकत राख्नुपर्ने सुझाव विज्ञहरूको छ ।

२१ वटा मन्त्रालयमध्ये अधिकांश सचिवको रोजाइ गृह र अर्थ नै हुने गर्छ । मुलुकको सिंगो शान्ति सुरक्षाको प्रशासनिक कमान्ड गर्न तथा प्रहरी प्रशासन हाँक्न र शक्ति केन्द्रसँग सम्बन्ध बढाउन पाइने हुँदा गृहमा अत्यधिक आकर्षण बढेको हो । गृह मन्त्रालयबाट सेवानिवृत्त हुन लागेका सचिव राईको उत्तराधिकारीका रूपमा आउने सचिवलाई काम गर्न भने सहज छैन । राईले गृह मन्त्रालयमा रहँदा परिणाम दिने गरी सुधारका कैयौ कार्य थालनी गरेका छन् । राई रातदिन काम गरेर परिणाम दिने अब्वल सचिवमा पर्छन् ।

सचिव हुनुअघि लामो समयसम्म गृह मन्त्रालयमा बसेको अनुभव तथा इमानदारिता र पेशाप्रतिको समर्पणका कारण राईले गृहमा छुट्टै र विशेष छाप छोडेका छन् । राईको सो पदचापमा हिँड्न अब आउने सचिवले ठूलै मिहिनेत गर्नुपर्ने गृहका कर्मचारी बताउँछन् । गृह र अर्थ मन्त्रालयमा आउने सचिव रातदिन काम गरेर परिणाम ल्याउन सक्ने, इमानदार, निर्भीक र उच्च मनोबलयुक्त हुनुपर्ने देखिएको छ । गृह प्रशासनको अनुभव नै नभएका व्यक्तिलाई सचिव बनाएर ल्याइएमा त्यसले मुलुकको शान्ति सुरक्षाको अवस्थामा नै गम्भीर समस्या पार्न सक्ने भन्दै गृहका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया