गैरसरकारी संस्था एकद्वार प्रणालीबाट सञ्चालन गरिनेः मुख्यमन्त्री राई

राष्ट्रिय समाचार समिति

मोरङ, २ असोज: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सञ्चालनमा रहेका गैरसरकारी संस्थालाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट सञ्चालन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाले लगानी धेरै देखाए पनि त्यसको प्रभाव कम देखिएको गुनासो बढेकाले प्रदेश सरकारले अनुगमन गर्ने गरी एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न लागेको उहाँले प्रष्ट पार्नुभयो ।

सामाजिक विकास मन्त्रालय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सङ्गठन (एआइएन)ले विराटनगरमा आज आयोजना गरेको ‘प्रदेश १ को विकासमा अन्तर्राष्ट्रिय संस्थाको भूमिका’ विषयक बहस कार्यक्रममा मुख्यमन्त्री राईले गैरसरकारी संस्थाको अभियानका कारण चेतनास्तर बढेको कुरा नकार्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै साझेदारसँग सहकार्य गरी हाम्रो लक्ष्य प्राप्तिका लागि लागेका छौँ, त्यसले नीति बनाई गैरसरकारी संस्था व्यवस्थित गरी सञ्चालन गर्न प्रदेश सरकारले तयारी गरेको छ ।”

मुख्यमन्त्री राईले पहिले समाज सङ्गठित भएर समाजका समस्या समाधान गर्ने र बाटो बनाउने गरे पनि गैरसरकारी संस्थाको गतिविधि पछि त्यो देखिन छाडेको सुनिने गरेको बताउनुभयो । “गैरसरकारी संस्थाले भत्ता बाँडेर बानी बिगारेका कारण यस्तो सहकार्य देखिँदैन भन्ने छ”, उहाँले भन्नुभयो । पहिले राज्य कमजोर भएका कारण अनुगमन नहुँदा पारदर्शिता नहुने तथा खर्च गरेअनुसार उपलब्धि नदेखिँदा गैरसरकारी संस्थालाई हेर्ने दृष्टिकोण नराम्रो भएको उहाँको भनाय थियो ।

कतिपयले अनुगमन नभएको फाइदा उठाए पनि अब भने प्रदेश सरकारले गैरसरकारी संस्थाले काम गर्न चाहेको तहमा त्यो कार्यक्रम आवश्यकता हेरी नदोहोरिने गरी काम गर्ने वातावरण बनाइने र अनुगमन गरिने मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश सरकारका उद्देश्य पूरा गर्न सार्वजनिक निजी साझेदारी अवधारणामार्फत काम गर्ने योजना अगाडि बढाएकाले निजी क्षेत्र, गैरसरकारी संस्था र बाह्य लगानी भित्र्याउन नीति निर्माणमा प्रदेश सरकार लागेको उहाँले प्रष्ट पार्नुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले गैरसरकारी संस्थाले गर्ने कार्यक्रम निर्वाचित जनप्रतिनिधिमार्फत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको आर्थिकस्तर उठाउने खालका काम गर्न आवश्यक छ, यसका लागि सबैले सरकारको सहयोगीको रुपमा काम गर्नुपर्छ ।” सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, प्रदेश १ सरकारका प्रमुख सचिव सुरेश अधिकारीलगायतले गैरसरकारी संस्थाले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोगी हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया