गोसाइँकुण्ड मार्गमा सरसफाइ

राष्ट्रिय समाचार समिति

रसुवा, १९ साउन : नजिकिँदै गरेको पवित्र तीर्थ गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी वातावरण स्वच्छता कायम गर्न धार्मिक मार्गको सरसफाइ अभियान शुरु गरिएको छ ।धुञ्चे बजारबाट शनिबारदेखि शुरु गरिएको मोटर र पैदल मार्गको सफाइ अभियान त्रिशूली नदीको तिवारी बजारतर्फ सरसफाइ सम्पन्न गरी जम्मा भएको २०० क्विन्टल भन्दा बढी फोहर व्यवस्थापन गरिएको प्रमुख भाग्येन्द्र पुरुषोत्तम ढकालले बताउनुभयो ।

यही साउन २६ देखि ३० गते जनैपूर्णिका दिनसम्म लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन हरित युवा पर्यटन समाजको अगुवाइमा सरसफाइ अभियान सञ्चालन गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

पैदल मार्गको अवस्था र सुरक्षाकर्मी परिचालन गर्ने स्थानको पहिचानका लागि रसुवाका प्रजिअ अर्जुन भण्डारीको नेतृत्वमा देउराली क्षेत्रमा शनिबार स्थलगत निरीक्षण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यात्राका क्रममा उत्पन्न फोहर जथाभावी नफ्याँक्न आग्रह गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिले निगालोको मात्र लौरो प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया