गौरामा देउडाको ‘क्रेज’

राष्ट्रिय समाचार समिति

भीमदत्तनगर, ४ भदौ : आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले विश्वविद्यालय परिसरमै गौरा पर्वका अवसरमा देउडा खेल्दै रमाए । विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीले संयुक्त रुपमा गोलबद्ध भएर देउडामार्फत सुदूरपश्चिमका भाका विश्वविद्यालयमा प्रस्तुत गर्दा केही समय विश्वविद्यालय गौरामय बन्यो । विश्वविद्यालयम मात्रै नभइ सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मङ्गलबारदेखि शुरु भएको गौरापर्वसँगै देउडाले बजार तताउन थालेको छ ।

पाका पुस्तासँगै युवा पुस्ता पनि देउडामा साँझपख कञ्चनपुरको मदनचोकलगायत विभिन्न मठ, मन्दिर र सार्वजनिकस्थलमा देउडामा झुमिन थालेका छन् । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि शुभारम्भ हुने गौरा पर्वले मङ्गलबारदेखि सुदूरपश्चिम प्रदेशलाई ढपक्कै ढाकेको छ । यहाँका पहाडी जिल्लादेखि तराईका बस्तीसम्म सुदूरपश्चिमको मौलिक पर्व गौराको चहलपहल बढेको छ ।

गौरा पर्वका लागि भारतलगायत अन्य मुलुकमा रोजगारीका लागि विदेशीएका पनि बिदामा घर आउने क्रममा यहाँको गड्डाचौकी नाकामा बढेको छ । कञ्चनपुरका युवा साहित्यकार हेमबाबु लेखकले पश्चिमा संस्कृतिको छाप युवापुस्तामा नराम्रोसँग परे पनि त्यसलाई निश्तेज पार्न गौरा जस्तो सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

“यो पर्वमा शिवपार्वतीको विवाह कथामा व्याख्या वर्णन भए पनि यसलाई सामाजिक विभेदरहित नारी प्रधानता रहेको पर्वका रुपमा लिइन्छ”, उहाँले भन्नुभयो । युवा पुस्तामाझ देउडामा नयाँपन आउँदै गरेकाले पनि देउडामा युवा क्रेज बढिरेहेको लेखकको भनाइ छ । गौराको धार्मिकसँगै अर्को महत्वपूर्ण पक्ष हो ‘देउडा’ । यहाँको डोटेली भाकामा प्रस्तुत हुने देउडामा यहाँका हरेक उमेर समूहलाई सहजै छुन्छ ।

गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका छन् । महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाँडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भनिन्छ महिलाहरुले दोस्रो दिन आज पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा बिरुडा धोएर गौरादेवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरादेवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजाअर्चना गरी विवाहित महिलाले दुब धागो चढाउने गर्छन् ।

गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउनेस्थल गौरा खलोमा पूजाआजा गर्छन् । दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।यहाँ खप्तड समाज, महाकाली साहित्य सङ्गम, अछामी समाजलगायतका विभिन्न सङ्घ÷संस्थाको अगुवाइमा देउडा प्रतियोगिता हुँदैआएका छन् । यो पर्वको प्रमुख आकर्षणका रुपमा रहेको डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा, धार्मिक ग्रन्थका प्रसङ्ग गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृित विरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ ।

महिलाले यस अवसरमा आफ्ना सुखदुःख डेउडाका माध्यमबाट व्यक्त गर्ने गरेका छन् । पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुखका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्वलाई एकताको पर्वका रुपमा पनि लिइन्छ । गौरा पर्वका लागि काम विशेषले घर बाहिर गएका व्यक्ति घर फर्किने गर्दछन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभइ यस पर्वमा व्रतबसी शिव र गौरीको पूजाआजा गर्नाले सुखः शान्ती प्राप्त हुने, ईष्ट र कुलदेवता खुशी रहने जनविश्वास छ ।

प्रतिक्रिया