ग्याल्पो ल्होसार मनाइयो

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १२ फागुन :प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१४७औँ ग्याल्पो ल्होसार आज बराह वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरेर मनाएको हो । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाउने परम्परा शेर्पा समुदायमा छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् । यस अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले शेर्पा भाषाको वक्तृत्वकला प्रतियोगिता आयोजना ग¥यो । प्रतियोगितामा १२ कक्षामा अध्ययनरत १३ विद्यार्थीले भाग लिएको केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले राससलाई जानकारी दिनुभयो ।

यसै अवसरमा हास्य कलाकार साम्दे शेर्पाको स्मृतिमा स्थापना गरिएको साम्दे शेर्पा स्मृति कोषले तीन जना कलाकारलाई पुरस्कार वितरण गरेको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार कलाकार ध्रुवरत्न हाडा, साम्दे शेर्पा स्मृति नव प्रतिभा पुरस्कार कलाकार दीपाश्री निरौला र साम्दे शेर्पा स्मृति पुरस्कार कलाकार आङफुर्वा शेर्पालाई वितरण गर्नुभयो ।

पुरस्कारको राशि क्रमशः रु ३१ हजार १००, रु ११ हजार १०० र रु १० हजार १०० एवं सम्मानपत्र छ । पुरस्कार हस्तान्तरण गर्नुहुँदै पूर्व प्रधानमन्त्री भट्टराई, सांसद जीपछिरिङ लामा लगायतले शेर्पा जातिको संस्कृति र संस्कार संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो । ग्याल्पो ल्होसारका अवसरमा आज नयाँ कपडा फेरेर ठूलाबडाबाट आशीर्वाद लिने गरिन्छ । फागुन शुक्ल पूर्णिमासम्म मनाइने पर्वको दोस्रो दिन मंगलबार गुरुकहाँ गएर आशीर्वाद लिइन्छ । बुधबार बौद्धमा शेर्पा संस्कृति झल्कने गरी विशेष ¥याली निकालिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया