घरमै धारा जडान भएपछि गृहिणी खुशी

राष्ट्रिय समाचार समिति

दमौली, ८ भदौ: तनहुँको व्यास नगरपालिका–४ वेदव्यास टोलको माथिल्लो भेगका फूलमाया विकलाई सधँै खानेपानीको पिरलो हुन्थ्यो । बिहान उठ्नेबित्तिकै खानेपानी जोहोका लागि उहाँले समय खर्च गर्नुपथ्र्यो । अब भने उहाँलाई खानेपानीको जोहो गर्ने चिन्ता हटेको छ ।

घरमै धारा जडानपछि खानेपानी खोज्दै अन्यत्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएपछि उहाँमा छुट्टै खुशी छ । “घरमा धारा नहुँदा सोही वडाको बागभञ्ज्याङ नजिक रहेको कुवामा पानी लिनु जानुपर्ने बाध्यता थियो”, विकले भन्नुभयो, “वडामा जनप्रतिनिधि आएपछि घरमै धारा जडान भएको छ ।”

स्थानीयवासी सम्झना थापाले खानेपानीको जोहोका लागि बिहानै डोको बोकेर कुवामा जानुपर्ने बाध्यताबाट मुक्ति मिल्दा खुशी लागेको बताउनुभयो । “खानेपानीको जोहो गर्नुपर्दा बिहानको समय खेर गइरहेको थियो”, उहाँले भन्नुभयो, “घरमै धारा जडानपछि अब बिहानीको समयमा घरको काम गर्न पनि सहज हुने भयो ।”

उक्त ठाउँमा खानेपानीको समस्या रहेपछि वडा कार्यालयले प्राथमिकता दिएर बजेट विनियोजन गरेको वडाध्यक्ष विश्वराज न्यौपानेले जानकारी दिनुभयो । यस ठाउँका १२ घरधुरीमा खानेपानी धारा जडानका लागि वडा कार्यालयले गत आर्थिक वर्ष २०७५÷७६ मा रु तीन लाख बजेट विनियोजन गरेको थियो । दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले रु आठ लाख सहयोग गरेको योजनामा स्थानीयवासीले रु ६० हजार बराबरको श्रमदान गरेका थिए ।

प्रतिक्रिया