सहारा विहिन दलबहादुरको घर निर्माणमा जापानी विद्यार्थीद्वारा श्रमदान

शर्मिला गुरुङ

दमक, ४ फागुन : झापाको गौरीगञ्ज गाउँपालिका–६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविट्याड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित परिवारको आवास निर्माण गर्ने सहमतिअनुसार दलबहादुर विकको घर निर्माण गर्न ती विद्यार्थीले श्रमदान गरेका हुन्।

सहारा गर्ने कोही नभएको विक दम्पत्तीको घर गाउँपालिका र सहारा नेपालले घर बनाइदिने भएपछि ह्याविट्याड संस्थामार्फत जापानको राजधानी टोकियोस्थित बासेदा युनिभर्सिटीका १७ जना विद्यार्थी स्वयंसेवकका रूपमा आएका हुन् । ह्याविट्याडका आलोक खतिवडाको नेतृत्वमा आएको उक्त टोलीले नौ दिनमा दलबहादुर विकको घर निर्माण गरेको थियो ।

गौरीगञ्जका ३५ विपन्न तथा दलित परिवारलाई तीन कोठाको घर निर्माण गर्ने सहमति गरिएको थियो । गौरीगञ्ज–४ को बेलगाछी, बालुगाउ सतार बस्तीका ११, वडा नं ५ को हरिराको मुसहर बस्तीमा १२ र वडा नं ६ को दमाइँ बस्तीमा आठलाई एकीकृत बस्ती योजनाअन्तर्गत रु एक लाख ५० हजारको लागतमा प्रतिघर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो ।

पहिलो चरणमा ३५ घर मात्र निर्माण गर्न लागिएको र यो योजनालाई क्रमिकरूपमा अगाडि बढाइने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । जग्गा नभएका परिवारलाई जग्गा उपलब्धका लागि गाउँपालिकाले सहजीकरण गरिदिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । गाउँपालिकामा कोही पनि घरपरिवार विहीन नहोस् भन्ने उद्देश्यले यो योजना अघि सारिएको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिनुभयो ।

एकै खालका घर निर्माण हुन लागेको र घर निर्माण गर्दा श्रमदान अर्थात मिस्त्रीबाहेक उपभोक्ता आफैँ लाग्नुपर्ने सहारा नेपाल गौरीगञ्ज सेवा केन्द्रका प्रबन्धक उमेश भारतीले बताउनुभयो । रासस

प्रतिक्रिया