घामले छाला डढाएको छ ? काँक्रो बन्छ उपयोगी !

मनिषा थापा

एजेन्सी : जुनसुकै समयमा पनि सलादको रुपमा प्रयोग गरिने फल हो काँक्रो । प्रशस्त मात्रामा पानी पाइने हुँदा काँक्रो गर्मी समयमा अझ बढी रुचाइन्छ । घरदेखि रेस्टुरेन्टसम्म यो सलादको रुपमा प्रयोग गरिँदै आइएको छ ।

खाना खाँदा सलादको रुपमा काँक्रो चपाउन पाउँदा सबैलाई आनन्द आउँछ । सलादका लागि मात्रै नभएर गर्मीमा पानी प्यास लागेर मुख सुकिरहेको बेला काँक्रो खान पाउँदा कसलाई आनन्द आउँदैन र? काँक्रो खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि उत्तिकै फाइदा जनक मानिन्छ ।

काँक्रोमा ९५ प्रतिशत पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रोमा भिटामिन बी, सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ ।

काँक्रो छाला र कपालका लागि अत्यन्तै उपयोगी मानिन्छ, यसमा पाइने बिटा करोटिनले कपाललाई मजबुत बनाउन र छालालाई नरम बनाउन मद्दत गर्दछ । गर्मी समयमा घामले डढेर छालाको कतिपय भाग कालो हुने गर्दछ। घामले डढेर छाला कालो भएको छ भने काँक्रोको रस निकाल्नुहोस् र त्यसमा कागतीको रस लगाउनुहोस् । अनि त्यसलाई १५ मिनेटसम्म छालामा लगाएर छोडिदिँदा त्यस्तो दाग हट्छ ।

काँक्रोको नियमित खानाले कब्जियत, पेटमा ग्यास भरिने जस्ता समस्या कम गर्न सहयोग गर्नुका साथै पोलेको ठाउँमा काँक्रोको पातलो टुक्रा दल्नाले दुखाइ कम हुनुका साथै फोका उठ्नबाट बचाउने गर्दछ ।

महिनावारीको गडबडी हुने महिलाहरुका लागि पनि काँक्रोको सेवन लाभदायी हुन्छ । काँक्रोलाई टुक्रा बनाएर दहीमा बिरे नुन, मरिच, जिरा, पुदिना आदि मिसाएर खाँदा महिनावारी नियमित हुनुका साथै महिनावारीका बेला हुने दुखाइ पनि कम गर्ने गर्दछ । 

प्रतिक्रिया