चक्रवात ‘निसर्ग’ को प्रभाव, देशभर बदलीसँगै वर्षा

admin

काठमाडौं, २२ जेठ : चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ ।

अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् । उक्त चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने बताइएको छ ।

“नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा गराउनुको साथै उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना छ”, मौसमविद् कँडेलले भनिन् । भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अमपुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ ।

निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बइबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ । त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तरपूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको छ । यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ ।

देशको खासगरी मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा बदली रही केही ठाउँमा हल्लका वा मध्यम वर्षा भएको छ । दिउँसो सुदूरपश्चिम प्रदेश कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं ५ मा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । शनिबार प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेशका केही र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

प्रतिक्रिया