चन्दननाथमा नयाँ ५२ हातको लिङ्गो

admin

जुम्ला, २४ असोज: धार्मिक परम्पराअनुसार घटस्थापनाकै दिन कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो, ५२ हातको ध्वजा र नेजा खडा गरिएकोे छ । चन्दननाथ मन्दिरमा लिङ्गो खडा गरिसकेपछि मात्रै कर्णाली क्षेत्रमा घटास्थापना गर्ने चलन छ । सो मन्दिरमा वर्षेनी घटास्थापनाको दिन पुरानो लिङ्गा निकालेर नयाँ लिङ्गो खडा गरिँदै आएको छ । एक वर्षमा ५२ हप्ता हुने भएकाले चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो र ५२ हातकै नेजा राख्ने चलन रहेको संस्कृतिविद् रमानन्द आचार्यले बताउनुभयो । उहाँका अनुसार घटास्थापनाकै दिन भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा राखेर खडा गर्ने चलन छ ।

आचार्यले भन्नुभयो, “मन्दिरमा विजय स्तम्भसहित दुई लिङ्गो खडा गरिन्छ । नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो खडा गरिन्छ ।” मन्दिरको लिङ्गो खडा गरेपछि घरघरमा जमरा राखिन्छ । बिहान ७ बजेपछि पुराना लिङ्गो ढाल्ने र नयाँ लिङ्गो खडा गर्ने काम शुरु भएको थियो । सो अवसरमा नवदुर्गामध्ये शैलपुत्रीको पूजा आराधाना गर्ने चलन छ ।

आजकै दिन जुम्लावासीले नयाँ अन्न अर्थात् नुवागी खाने चलन छ । प्रचलनअनुसार जुम्लाको कालीमार्सी धान पनि आजकै दिनदेखि काट्न शुरु हुन्छ । विश्वकै अग्लो स्थानमा फल्ने कालीमार्सी धान पनि चन्दननाथ मन्दिरमा सिख चढाएपछि परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने चलन रहेको स्थानीयवासी चित्रलाल श्रेष्ठले बताउनुभयो । आजैका दिन सरकारी कार्यालयमा बोका बलि दिएर नयाँ झण्डा फर्ने गरिन्छ ।
-रासस

प्रतिक्रिया