चन्दननाथ भैरवनाथ मन्दिरमा दर्शनार्थी बढे

मनिषा थापा

काठमाडौँ, ९ भदौ : पछिल्लो समय कर्णालीकै प्रसिद्ध जुम्लास्थित चन्दननाथ भैरवनाथ मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेकोे छ । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेसँगै राराताल घुमेर चन्दननाथ मन्दिरमा पूजा गरेर फर्कने पर्यटक बढ्दै गएका  हुन् । चन्दननाथ गुठी समितिका अनुासार सो घोषणा पछि अहिलेसम्म आन्तरिक तथा बाह्य गरेर २० हजार पर्यटक यहाँ आइपुगेका छन् । यहाँ दैनिक करीब डेढसय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

पछिल्लो समय पर्यटक बढ्दै गएपछि मन्दिरले पनि उनीहरूको रेकर्ड राख्न थालेको चन्दननाथ गुठी समितिका खरिदार रत्नप्रसाद आचार्यले बताउनुभयो ।
एक हजार ४०० वर्ष पुरानो ऐतिहासिक मन्दिर तथा जुम्लाको मनोरम दृष्य अवलोकन गर्न पर्यटक रमाउने गरेका छन् । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन यहाँ हुने भएकाले पनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढेको हो । दैलेखको महावै जगन्नाथबाट ल्याइएको दियो जहिले पनि बलिरहेको हुन्छ ।
मन्दिरमा चालु आर्थिक वर्षमा रु ४३ लाख ७७ हजार ४४६ पर्यटकले चढाएको भेटी सङ्कलन भएको खरिदार आचार्यले जानकारी दिनुभयो । राजश्व सङ्कलन तथा मन्दिरको व्यवस्थापनलाई मजबुत बनाएर अघि बढ्ने सोचमा समिति रहेको उहाँको भनाइ थियो । सङ्कलित रकममध्ये रु ४२ लाख ६८ हजार २०० खर्च भइसकेको, रु चार लाख ६० हजार ४०० बैंक मौज्दात रहेको बताइएको छ । गत वर्ष रु ३९ लाख १७ हजार आम्दानी भएको थियो । रासस

प्रतिक्रिया