चलचित्रको कथा जस्तै एउटा गीतले गरायो २४ बर्षपछि आमा छोराको भेट [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। मिलन पछि बिछोड अनि बिछोड पछि मिलनको कथा काल्पनिक चलचित्रमा मात्र देख्न पाइन्छ । यस्ता कथा वास्तविक जीवनमा घटेको कमै सुन्न र देख्न पाइन्छ ।

मिलन विछोडको कथा बोकेको कुनै चलचित्रको कथा जस्तै बुटवलमा वषौंअघि छुट्टिएका एक आमाछोराको अचानक भेट भएको छ। उनीहरुको भेट गीत संगितको माध्यमबाट अरू कसैले चिनाएर भएको हो ।

२४ बर्ष अघि गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–४ , चन्द्रकोट गाउँमा ११ महिनाको दुधे बालक दीपक परियारलाई छाडेर उनकी आमा कविता परियार बेपत्ता भएकी थिईन् । २४ बर्ष अघि उनले घरबाट बेपत्ता भई भारतमा पुगेर अर्को विवाह गरेर बसेकी थिइन् ।

दीपककी आमा केहि दिन अघि आफ्नी आमाको मृत्यु भएको खबर सुनेर रुपन्देहीको मुर्गियामा आएकी थिईन्। त्यहाँ उनले युट्युवमा एउटा रोइला गीत हेरिन् र सुनिन् । गुल्मीको चन्द्रकोट पनि गीतको शब्दमा जोडिएकोले ‘याे गीत गाउने केटा कसको छाेरा होला ?’ भनेर आफ्नी दिदीसँग चासो राखिन् ।

साेधखाेजकाे क्रममा गीत गाउने गायक चन्द्रकोट स्थित फलानाको छोरा हो भन्ने खुल्यो । परिचय खुलेपछि उनकी दिदीले बुटवलमा रोईला गीत गाउने दिपकको खोजी गरिन् र अन्ततः आमा छोराको भेट गराईन । उनै आमाछोराको बुटवलमा २४ बर्ष पछि भेट भएको छ ।

भेट पश्चात दुबै भावुक भए । दुबैका आँखा रसाए । आमा भन्दै थिईन, मेरो विवसता थियो छोरा… । दिपक भन्दै थिए, मैले त तपाईलाई बिर्सी सकेको थिएँ , मेरी आमा भने कै मेरी फुपु नै ठानेको थिएँ ।

हिजोको त्यो बेसहारा बालक अहिले स्थानीय गायक कलाकार बनेका छन् । बाल्यकालमै आमाको ममता गुमाएको पीडाले दीपक सानै देखि गीत गुनगुनाउन थालको थिए । आर्थिक अभावका कारण कलाकार बन्ने सपना पुरा गर्न दीपकका लागि धेरै टाढाको कुरा थियो । गुल्मी ईन्द्रगौडामा बस्ने उनकी फुपु मनमाया परियारले उनले दिपकलाई हुर्काईन बढाइन् र कलाकार बनाइन् ।

ईन्द्रेगौडाकै नेपाल राष्ट्रिय त्रिभुवन माध्यामिक विद्यालयमा पढाईन् । त्यहाँ प्रवेशिका परिक्षा उतिर्ण गरेर बुटवल तर्फ लागेका दीपकले सांगितिक क्षेत्रमै संघर्ष गरेर शिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्नातक सम्मको अध्ययन पुरा गरे ।

२०७१ सालमा दिपकले ‘गुल्मेलीको मन’ नामक गीती एल्वम बजारमा ल्याएका थिए । क्रमशः हुग्दीशिरैले मालिका पञ्चैवाजा सहित दर्जनौं गीत बजारमा ल्याए । पछिल्लो समय उनले आफ्नो जन्मथलो गुल्मीलाई आमाको उपमा दिंदै रोइला भाकामा गीत निकाले त्यसै गीतले उनको आमासँग भेट गरायो । भेट पश्चात आमाछोराले पेट भरी मनका कुरा साटेका छन्।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू