चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा

admin

काठमाडौं, ९ फागुन : पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।

क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि एक सय २१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो । आउँदाे बुधबारसम्म क्षमापूजा हुनेछ ।

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । वर्षौँदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा सुरु भएको हो ।

वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ । चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो । सुनको जलहरी निर्माण पनि सुरु भइसकेको कोषले जनाएको छ । एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ ।

पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोड रुपैयाँको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।

सुनको जलहरी बनाउन एक सय आठ किलो सुन लाग्नेछ । गएकाे माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुग्नुभएका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई ३० करोड रुपैयाँ बजेट दिन संस्कृति मन्त्री भानुभक्त ढकाललाई निर्देशन दिनुभएको थियो ।

मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि झण्डै ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ । ३० करोड रुपैयाँबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट बेहाेर्ने जनाएको छ ।

प्रतिक्रिया