चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १६ असोज: गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उहाँले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभएको हो ।

उहाँले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्यधिक हुने भएकाले सोहीअनुरूपको सुरक्षा रणनीति बनाउन सुझाव दिनुभयो । गृहमन्त्री थापाले सडक सुरक्षा तथा तोकिएको भाडा कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्नसमेत निर्देशन दिनुभएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया