चाबहिलमा सिन्दूर जात्रा

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २९ कात्तिक: चन्द्रविनायक जात्राको अन्तिम दिन गणेश र भैरवको रथयात्रा अन्त्य गरी चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरिएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन शुरु भएको जात्रा आज मार्गशीर्ष कृष्ण तृतीयाका दिन सिन्दूर जात्रा गरी भोज खाएपछि अन्त्य हुन्छ । चाबहिल क्षेत्रमा बसोवास गर्नेले आज आफन्तलाई बोलाई भोज खुवाउँछन् ।



नेपाल संवत् ८०० मा राजा भूपालेन्द्र मल्लको पालामा शुरु भएको जात्रा कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चाबहिल क्षेत्रमा मनाइन्छ । ऐतिहासिक, सांस्कृतिक चन्द्रविनायक तथा भैरवनाथ जात्रा चुच्चेपाटीबाट पशुपतिसम्म चार दिन धुमधामसँग मनाइन्छ ।
जात्राको पहिलो दिन चाबहिल गणेश मन्दिरमा पूजा गरेपछि चार दिन लामो जात्रा शुरु हुन्छ । त्यसदिन बेलुकी पशुपतिको अमालकोट कचहरीबाट ल्याइएको दाउराले मन्दिरअघि धुनी जगाइन्छ । यो धुनी तापेमा रोग निको हुन्छ भन्ने धार्मिक विश्वास छ ।

जात्राको दोस्रो दिन अमालकोट कचहरीका द्वारेले पूजा गरेपछि टोलटोलका गुठियारले पूजाआजा गर्छन् । त्यसै दिनदेखि चुच्चेपाटीबाट पशुपतिसम्म दुवै रथलाई घुमाउन शुरु गरी आज अन्त्य गरिएको जात्रा समन्वय समितिका संयोजक नवीन गोर्खालीले राससलाई जानकारी दिनुभयो । चारदिने जात्राका लागि चाबहिलबाट कुटुबहालसम्मको क्षेत्र सजाइएको छ । उपत्यकाका चार गणेशमध्येको चन्द्रविनायक चार वर्षअघिको भूकम्पले क्षतिग्रस्त बनेको थियो । एक वर्षअघि पुनःनिर्माण शुरु भए पनि पुराना र नयाँ सामग्रीको विवादले काम रोकिएको छ । जात्रापछि मात्र फेरि पुनःनिर्माण शुरु हुने जनाइएको छ ।

प्रतिक्रिया