चार प्रहरीसहित छ जना मारिए

राष्ट्रिय समाचार समिति

८ साउन (रासस÷सिन्ह्वा): अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । यसरी मारिनेमा चार जना प्रहरी पनि परेको बताइएको छ । उक्त प्रान्तको दाराबाद भन्ने स्थानमा यहाँका प्रहरी र तालिबानबीच गोली हानाहान भएको बताइएको छ । त्यस क्रममा मङ्गलबार अपरान्ह छ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

दाराबाद जिल्लाको सुल्तान मिरमा रहेको प्रहरी चौकीमा तालिबानहरुले हमला गरेका थिए । हतियारसहित ठूलो संख्यामा आएका तालिबानहरुले त्यस प्रहरी चौकीमा हमला गरेपछि दोहोरो भिडन्त भएको थियो ।

भिडन्तका क्रममा चार जना प्रहरी र दुई जना तालिबान मारिएका सो जिल्लाका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । केही घन्टा उक्त भिडन्त चलेको थियो । त्यस क्रममा अरु दुई जना प्रहरी र चार तालिबान घाइते भएका छन् । अफगानिस्तानको फराह प्रान्तमा तालिबानहरु विगतदेखि नै सक्रिय रही आएका बताइन्छ । यो पछिल्लो झडपको विषयमा उनीहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया