चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी

शर्मिला गुरुङ

बेझाड, १३ मङ्सिर : पाल्पाको तिनाहुँ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा रु तीन लाख बराबरको भेटी सङ्कलन भएको छ ।

कात्तिक पूर्णिमाको अवसरमा मङ्सिर ५, ६ र ७ गते लागेको मेलामा रु तीन लाख २४ हजार ८०० भेटी सङ्कलन भएको सत्यवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुनवीर गाहामगरले जानकारी दिनुभयो ।

मन्दिरमा सङ्कलन भएको भेटी मन्दिरको भौतिक पूर्वाधार, खानेपानी, बिजुली, मन्दिरसम्म पुग्ने सडक मर्मत तथा विस्तार, मन्दिरका लागि आवश्यक सामग्री खरीदमा खर्च गरिने उहाँले बताउनुभयो । यस वर्ष करीब एक लाख दर्शनार्थीले मेला अवलोकन गरेका थिए ।

पाल्पा, गुल्मी, रुपन्देही, स्याङ्जालगायतका विभिन्न जिल्ला तथा भारतको लखनऊदेखिका दर्शनार्थीले मेला अवलोकन गरेको धु्रवप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । सत्यवती मन्दिरमा रहेकी बज्यै बैरी छन् भन्ने धार्मिक विश्वास रहेकाले यहाँ आउने दर्शनार्थीले चिच्याएर बर माग्ने गर्दछन् । मन्दिर र ताल वरपर परिक्रमा गर्दै चिच्याएर बर मागेमा भाकल पूरा हुन्छ भन्ने धार्मिक विश्वासका कारण पूजा गर्न आउने दर्शनार्थीले चिच्याएर बर माग्ने चलन छ । रासस

प्रतिक्रिया