चिनियाँ खेलाडीको यो एक तस्बिरले ल्याएको तरङ्ग

admin

एजेन्सी, ११ साउन : अहिले चिनियाँ खेलाडीको एक तस्बिरले तरङ्ग ल्याएको छ । २४ वर्षीया चिनियाँ खेलाडी होउ झिहुईले शनिबार भारतीय खेलाडीलाई पछि पार्दै टोकियो ओलम्पिकमा भारोत्तोलनतर्फ ४९ किलोग्रामतर्फको प्रतिष्पर्धामा स्वर्ण पदक (उपाधि) जितेकी छिन् ।

बेलायती समाचार संस्था रोयटर्सले छापेको होउको तस्बिरले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ मात्र होइन सरकारी अधिकारीलाई पनि आक्रोशित बनाएको छ । दुई दिनअघि रोयटर्सले समाचारसँगै आफ्नो ट्वीटरमा राखेको तस्बिरले खेलाडी र चीनलाई होच्याएको अर्थमा धेरैले बुझेका छन् ।

प्रतियोगिताका क्रममा भार उचाल्दा उनको अनुहारको भाव बदलिएको थियो, जुन स्वाभाविक हो । तर, उनको यही तस्बिर रोयर्टसले छापिदिएको थियो । यसअघि टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेपछि अमेरिकी टेलिभिजन सीएनएनले चीनलाई स्वर्ण पदक र कोभिडको थप संक्रमण शीर्षकमा खबर छापेको थियो ।

चिनियाँ अधिकारीले सीएनएनले जानीबुझी यस्तो शीर्षक राखेको भन्दै टिप्पणी गरेका थिए । यस्तै, अमेरिकाको एबीसी न्युज टेलिभिजनले टोकियो ओलम्पिकको उद्घाटनका क्रममा चीनको अधुरो नक्सा देखाएको भन्दै चिनियाँहरूले आलोचना गरेका थिए । पश्चिमा देशका सञ्चारमाध्यमले आफूबारे छापेको खबरप्रति चिनियाँ अधिकारीले असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिक्रिया