चिनियाँ गिरोहलाई पक्राउ गर्न चीनकाे दूतावास सक्रिय, एकै दिन १२० पक्राउ

admin

काठमाडौं , ८ पुस: पर्यटक भिसामा नेपाल प्रवेश गरेर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका चिनियाँ अपराधीको ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले सोमबार राजधानीका मनमैजु, बूढानीलकण्ठ र महाराजगन्ज क्षेत्रबाट एकै दिन १ सय २० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

फाइल तस्वीर

नेपाल प्रहरीले चिनियाँ अधिकारीसमेतको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सोमबार थालेको कारबाहीमा समेत नेपालस्थित चिनियाँ दूतावासको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ । फिलिपिन्समा यस्तै प्रकृतीको अपराधमा संलग्न ६ सय १ जना चिनियाँ नागरिक केही दिनअघि पक्राउ परेका थिए ।

यस्तै कम्बोडिया, भियतनाम, लाओस, इण्डोनेसिया र मलेसियालगायत देशमा समेत यस्तै प्रकृतिको अपराध बढेपछि चीन सरकारको अनुरोधमा कारबाही अघि बढेको थियो । त्यहाँबाट भागेको समूह नेपालमा सक्रिय रहेको सूचनापछि दूतावासको आग्रहमा कारबाही सुरु गरिएको स्रोत बताउँछ ।

प्रहरीका अनुसार, काठमाडौंबाट पक्राउ परेकाहरुले घर नै भाडामा लिएर व्यवस्थित रूपमा कार्यालय नै खोलेर अवैध गतिविधि सञ्चालन गरिरहेको सूचना प्रहरीले पाएको थियो । सो आधारमा प्रहरीले संयुक्त टोली बनाएरै चिनियाँ नागरिकको ठूलो समूहलाई पक्राउ गरेको हो । नेपाल बसेर इन्टरनेटका माध्यमबाट चीन र नेपाल दुवैतर्फ आर्थिक अपराधका घटना घटाइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपाल बसेर विभिन्न किसिमका आपराधिक क्रियाकलाप गर्दै आएका १ सय २० जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको बताए ।

‘पक्राउ परेकाहरू इन्टरनेटमार्फत आर्थिक अपराधका घटनामा संलग्न रहेको पाइएको छ, एउटै घरमा २५ देखि ३० जनासम्म बसेर काम गरिरहेका उनीहरू चीन र नेपालमा विभिन्न किसिमका आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ काठमाडौं परिसर प्रमुख सुवेदीले राजधानीसँग भने ।

पक्राउ परेकाहरूका साथबाट ४ सय बढी ल्यापटप, मोबाइल फोन, सिम कार्डलगायतका सामान बरामद भएको छ । विदेशमा समेत उनीहरूले काठमाडौंबाटै साइबर अपराध गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

महानगरीय अपराध महाशाखा टेकुका प्रमुख एसएसपी सहकुल थापाले पक्राउ परेकाहरू एउटै देशबाट आएको पाइएको र नेपाल प्रवेश गरेर घर नै भाडामा लिई शंकास्पद गतिविधि सञ्चालन गरिरहेको पाइएको जानकारी दिए । पक्राउ परेकाहरूलाई काठमाडौं प्रहरी मातहतका विभिन्न वृत्त र प्रभागमा राखेर अनुसन्धान थालिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीले उनीहरू वित्तीय ठगी गर्न नेपाल प्रवेश गरेको पाइएको र उनीहरूको साथबाट बरामद ल्यापटप तथा मोबाइलको वैज्ञानिक अनुसन्धानपछि थप कुरा खुल्ने बताए ।

यसअघि बैंक ह्याकिङ प्रकरणमा संलग्न आठ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू दरबारमार्गस्थित नबिल बैंक, प्रभु बैंकलगायतका एटीएमबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ परेका थिए । यसैगरी, लागूऔषध कारोबारमा समेत विदेशीहरू नेपालमा उल्लेख्य रूपमा पक्राउ पर्ने गरेका छन् ।

नेपालमा लागूऔषधको कारोबारमा पक्राउ पर्ने विदेशीहरूमा म्यानमार, जाम्भिया, नाइजेरियालगायत दक्षिण अफ्रिकी मुलुकसहित छिमेकी मुलुक चीन, बंगलादेश, पाकिस्तानसहित सबैभन्दा बढी भारतीय रहने गरेका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया