चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढ्यो

admin

सोलुखुम्बु, १५ कात्तिक : जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् ।

कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताउनुभयो । सल्लेरी बजारमा न्यानो कपडा किन्नेको भीड बढेको ‘न्यू ए वान टेलरिङ सेन्टर’ सञ्चालक विश्राम हिङमाङले बताउनुभयो । “ज्याकेटको माग अत्यधिक आएको छ,” उहाँले भन्नुभयो, “हामीलाई भ्याइनभ्याई छ ।”

माग बढेपनि ज्याकेट बनाउने जनशक्तिको अभाव छ । “काम गर्ने जनशक्ति कम हुँदा माग अनुसार ज्याकेट उत्पादन गर्न सकिएको छैन,” दर्जीले भन्नुभयो । सोलुखुम्बु वस्त्रालयका सञ्चालक राजन भुसाल आदेश अनुसार ज्याकेट बनाउँदा ग्राहकलाई सस्तो पर्ने बताउनुहुन्छ । दैनिक ज्याकेटको व्यापारमा वृद्धि हुँदै गएको भुसालले बताउनुभयो ।

“अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले व्यापारमा वृद्धि भएको छ,” उहाँले भन्नुभयो । जाडो चाँडै शुरु भएका कारण न्यानो कपडा किन्नेको सङ्ख्या बढेको हो । व्यापारी रमेश बस्नेत जाडोको यामअघि दैनिक रु २० हजारको व्यापार हुने गरेकामा अहिले रु ३० हजारदेखि रु ३५ हजारसम्मको कारोवार हुने गरेको बताउनुहुन्छ । रासस

प्रतिक्रिया