चीनको हुबेई प्रान्तमा रहेका सबै नेपालीको उद्धार गर्ने सरकारको निर्णय

admin

काठमाडौं, माघ १८ : नेपालले चीनको हुबेई प्रान्तमा रहेका सबै नेपालीहरुको उद्धार गर्ने निर्णय गरेको छ । ‘कोरोनाभाइरस’को संक्रमण फैलिँदै गएपछि नेपालले हुबेईमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको हो । बेइजिङस्थित नेपाली राजदूतावासले शनिबार सूचना प्रकाशित गर्दै त्यहाँ रहेका नेपालीहरुको उद्धारका लागि विमान ‘चार्टर्ड’ गरिने जनाएको छ ।

दूतावासले हुबेईमा रहेका सबै नेपाली नागरिकलाई ‘विच्याट’मार्फत सूचना दिइसकेको छ । नेपाल फर्किनका लागि हुबेईमा रहेका नेपालीहरुलाई फर्म भर्नुपर्नेछ । यो फर्म राजदूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ । नेपाल फर्कन चाहने नेपालीहरुको फर्म बुझाएपछि त्यहीअनुसार विमानको व्यवस्था गरिने दूतावासले जनाएको छ ।

फर्म दूतावासले दिएको ठेगानामा स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख ९ बजेभन्दा अघि पठाइसक्नुपर्नेछ । हरेक पासपोर्ट भएका व्यक्तिले छुट्टै फर्म भर्नुपर्नेछ । त्योभन्दापछि दिएमा फर्म स्वीकार्य नहुने दूतावासले जनाएको छ । फर्कन चाहने व्यक्तिहरुले दूतावासले तोकेको प्रक्रिया पूरा गर्नुपर्नेछ । नाबालिगको हकमा अभिभावकले फर्म भरिदिनुपर्नेछ ।

यससँग कुनै दुविधा भएमा दूतावासमा सम्पर्कका लागि मोबाइल नम्बर १५७० १२८५७ ६३ मा सम्पर्क गर्न आग्रह गरेको छ । चीनको सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित हुबेई प्रान्तको वुहान सहरमा १९० नेपाली विद्यार्थी अध्ययनरत् छन् । विभिन्न मुलकले चीनबाट आफ्ना नागरिक फिर्ता लगिरहेका छन् ।

प्रतिक्रिया