चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

admin

काठमाडौं, १ असोज : चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप शुक्रबार नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खोप ल्याउन निगमको वाइडबडी जहाज (हिजो) बिहीबार राति चीन गएको थियो । एकै खेपमा यति धेरै खोप ल्याइएको यो पहिलो पटक हो । यसअघि एक भायलमा दुई डोज खोप मात्र हुन्थ्यो ।

अहिले एक भायलमा पाँच डोज खोप हुन्छ । शुक्रबार आइपुगेको खोप आउँदो सोमबारदेखि वितरण गरिने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए । यो खोप १८ वर्षदेखि ५० वर्षसम्मका नागरिकलाई लगाउने तयारी छ । यस्तै हिमाली जिल्लामा भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ ।

प्रतिक्रिया