चीनमा तेस्रा क्यानाडाली नागरिक पक्राउ

शर्मिला गुरुङ

बेइजिङ, ४ पुस (रासस/एएफपी) : चीनमा तेस्रा क्यानाडाली नागरिक पक्राउ परेको क्यानाडाको एक अखबारले बुधबार समाचार प्रकाशन गरेको छ । चिनीया टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृतलाई अमेरिकी अनुरोधमा क्यानाडामा गिरफ्तार गरेयता चीन र क्यानाडाबीच कुटनीतिक तनाब सिर्जना भएको छ ।

क्यानाडाको विदेश मन्त्रालयले एक जना क्यानाडेली नागरिक गिरफ्तार भएको कुरा जानकारीमा आएको जनाएको छ । तर, मन्त्रालयका प्रवक्ताले विस्तृत विवरण दिन अस्वीकार गरे ।

क्यानाडेली अखबारले हुवावेका वित्तीय प्रमुख मेङ वान्झाउको गिरफ्तारीसँग पछिल्लो गिरफ्तारी सम्बन्धित रहे नरहेको खुलाएको छैन । चिनीया विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नियमित पत्रकार भेटमा क्यानाडाली नागरिकको गिरफ्तारीका बारेमा जानकारी नभएको बताउनुभयो ।

मेङको डिसेम्बर १ मा क्यानाडामा भएको गिरफ्तारीपछि चीनले दुई क्यानाडाली नागरिकलाई गिरफ्तार गरेकाले यसलाई चीनको प्रतिशोधका रुपमा हेरिएको छ । तर, चीनले यस बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

चीनले क्यानाडाका कूटनीतिज्ञ माइकल कोभरिग र चीनस्थित व्यवसाय परामर्शदाता माइकल स्पाभोरलाई चीनको आन्तरिक सुरक्षामा खलल पु¥याएको भन्दै गत डिसेम्बर १० मा गिरफ्तार गरेको छ ।

कोभरिग हाल हङकङस्थित इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ट सल्लाहकार हुनुहुन्छ ।

बेइजिङले मेङलाई क्यानाडाले विनाशर्त मुक्त नगरे गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिइआएको छ । चिनीया सरकारी सञ्चार माध्यमहरुले मेङको गिरफ्तारी राजनीतिक प्रेरित रहेको भन्दै आलोचना गरिरहेका छन् ।

क्यानाडाले मेङको गिरफ्तारी राजनीतिक प्रेरित नभएको बताउँदै आएको छ ।

प्रतिक्रिया