चुलिँदै रक्त अभाव

राष्ट्रिय समाचार समिति

भक्तपुर, २ पुस: आवश्यकताअनुसारको रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । रगत नपाए भक्तपुर जानु भन्ने नेपाल रेडक्रस सोसाइटीको नारा अचेल जोगाउनै सास्ती परेको छ । जिल्लामै जटिल रोगको उपचार हुने अस्पतालमध्ये शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पतालबाट मात्रै दैनिक बिरामी रगत लिनका लागि रेडक्रसको रक्तसञ्चार केन्द्रमा भौतारिने गरेका छन् ।

त्यसमाथि पनि जिल्ला अस्पताल र निजी अस्पतालबाट थप रगत लिन आउने बिरामी मात्रै नभई उपत्यका तथा बाहिरी जिल्लाबाट आपत्कालीन रुपमा रगत लिनका लागि आउने बिरामीले चाहिए जति रगत नपाउँदा बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रमा धरानदेखि रगत लिन आएका दीपक थापाले रगत नपाएर राजधानीमा भौतारिनु पर्दा बिरामीको ज्यान नै जोखिममा परेको बताउनुभयो ।

आफ्ना अर्बुद रोग भएका आफन्तका लागि पाँच पिन्ट रगत लिन जहाज चढेर आएको बताउँदै रक्त सञ्चार केन्द्र काठमाडौँमा एक पिन्ट रगत मात्रै पाएपछि थप रगतका लागि भक्तपुर आएको उहाँले बताउनुभयो । यहाँ पनि दुई पिन्ट रगत मात्रै पाएकाले रगत खोज्दाखोज्दै बिरामीको ज्यान जाने जोखिम बढेको उहाँको चिन्ता थियो । रगत लिन राजधानीमा भौतारिँदा भौतारिँदै रगत नपाएरै बिरामीको ज्यान जाने अवस्था छ ।

वीरअस्पतालबाट रगत लिन आएका राम कार्कीले तत्काल शल्यक्रिया गर्न रगत माग भएपछि काठमाडौँमा नपाएर भक्तपुर आएको बताउनुभयो । आफ्ना बिरामीको तत्काल शल्यक्रिया गर्न चाहिने रगत लिन भक्तपुर पुग्दा पनि रगत नपाएपछि नेपाल रेडक्रस सोसाइटीले दुईजना दातालाई बोलाएर रगत झिकेर पठाए पनि अझै दुई पिन्ट रगत नपुगेको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोजकुमार थापाले रगतको अभाव हुँदा बिरामीको ज्यान जोखिममा पर्ने गरेको स्वीकार गर्नुभयो । उहाँले मागअनुसारको रगत पुग्ने गरी दिन नसके पनि भक्तपुर आउनेलाई रित्तो हात भने नफर्काएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दैनिक कम्तीमा २५० पिन्ट रगतको माग हुने गरेको छ, हामीले दैनिक १९० पिन्ट रगत सङ्कलन र वितरण गर्दै आएका छाँै, अत्यावश्यक बिरामीका लागि रगत नभए दातालाई बोलाएर तत्काल रक्तदान गराएर पनि रगत दिने गरेका छौँ ।”

अत्यावश्यक र आपत्कालीन अवस्थाका बिरामीका हकमा भने रेकर्डमा रहेका रक्तदातालाई तत्काल बोलाएर रक्तदान गर्न लगाई रगत दिएर पठाउने गरिएको थापाको भनाइ छ । रक्तदान कम हुने, दुर्घटनाका घाइते र अन्य बिरामीको सङ्ख्या बढ्ने भएकाले रगतको अभाव चुलिएको बताउँदै उहाँले दैनिक रक्तदान कार्यक्रम राख्दा पनि रगतको माग पूरा गर्न नसकेको बताउनुभयो ।

रेडक्रसले सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, रामेछापमा पनि नियमित रक्तदान कार्यक्रम गर्ने गरी कार्य अगाडि बढाइएको र जाडोयाममा रक्तदान गर्ने पनि कम हुने भएकाले पनि रगतको अभाव चुलिएको उहाँको भनाइ छ । विगतका तुलनामा रोग र दुर्घटना बढेकाले पनि रगतको माग बढी भएको बताउँदै उहाँले भक्तपुरमा रगत लिन उपत्यका बाहिरबाट समेत बिरामीका आफन्त आउने गरेका बताउनुभयो । उहाँले तीन तीन महिनामा रक्तदान गर्न स्वस्थ नागरिकलाई आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया