च्यासल र मछिन्द्रले अङ्क बाँडे

admin

काठमाडौँ, २४ असोज : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित मैदानमा भएको खेलमा दुुवै टोलीले गोलरहित बाराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७२औँ मिनेटमा च्यासलले पेनाल्टी पाए पनि गोल गर्न नसक्दा अङ्क बाँड्न बाध्य भयो । ७२औँ मिनेटमा च्यासलका विमल घर्तिमगरलाई मछिन्द्रका डिफेन्सले लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई हेमन्त थापामगरले गोल गर्न सकेनन् । उनको पेनाल्टी मछिन्द्रको गोलकिपर दीप कार्कीले बचाएका थिए ।

चार वर्षपछि भएको लिगको पहिलो चरण जारी रहँदा सङ्कटा क्लब तीन अङ्कसहित शीर्ष स्थानमा छ । सङ्कटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि नौ दिन रोकिएर लिग आजदेखि पुनः सञ्चालन हुन लागेको हो । बिहीबार पहिलो खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच सोही मैदानमा खेल हुनेछ ।
-रासस

प्रतिक्रिया