छानबिन समितिको कार्यशैलीप्रति प्रम ओली असन्तुष्ट

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन सम्बन्धमा गठन भएको समितिको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ ।

प्रतिष्ठानको तेस्रोसभा बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उहाँले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चारमाध्यममा देखिनु उचित नभएको प्रतिक्रिया दिनुभयो । प्रतिष्ठानमा अनियमितता भएको विषयमा छानबिन गर्न सरकारले जेठ ३० गते एक समिति गठन गरेको थियो । समितिको हवाला दिँदै प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा सङ्गीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चारमाध्यममा आएको थियो ।

“समितिले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा बुझाए जस्तो छ”, प्रतिष्ठानका कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले थप्नुभयो, “यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानबिन गर्न कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ ।”

प्रतिवेदनको विश्वसनीयतामा प्रश्न उठेको उल्लेख गर्दै उहाँले प्रतिवेदन कुलपतिलाई बुझाउनुभन्दा पहिला अन्यत्र बुझाएर दबाब सिर्जना गर्न खोजिएको उल्लेख गर्दै त्यस्तो दबाबमा आफू नपर्ने बताउनुभयो । उहाँले सत्यतथ्य बुझेर अघि बढ्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया