बाजुराको हिमाली गाउँपालिकामाछोरासँगै आमा कक्षा आठमा

कृष्ण रोकाया

मार्तडी, १९ फागुन : हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षको हुनभयो । बर्ष बढेपनि निमकलाको पढ्ने रहर भने मरेको छैन ।

निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरु हुन्छ । गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम सक्नुहुन्छ । अनि खाना खाएर विद्यालय जानुहुन्छ । अर्काको घर जाने भएकाले छोरीले नपढे पनि हुन्छ भन्ने मान्यतालाई निमकलाले तोड्नुभएको छ ।

विद्यालयको बेग्लै पोशाक भएपनि उहाँ भने धोती र चोली लगाएर जानुहुन्छ । निमकला गाउँको ठुलाकोट आधारभूत माध्यमिक विद्यालयमा छोरा सन्तोषसँगै कक्षा आठमा पढ्नुहुन्छ । पढ्दापढ्दै उमेर नपुग्दै बाबुआमाले विवाह गरिदिएको निमकलाको भनाइ थियो । माइतीघरमा पढ्न नपाएकाले छोरा पाएपछि पढ्ने सोच आएर विद्यालय भर्ना भएको उहाँले बताउनुभयो । पढ्ने रहर छ भनेपछि जेठो छोरासँग विद्यालय भर्ना गरिदिएको श्रीमान् सिउमलले बताउनुभयो ।

हिमाली गाउँपालिकाको कोटगाउँका ७० परिवारमध्ये अहिलेसम्म एकजना महिला पनि आठ कक्षा पास भएका छैनन् । निमकलाले भन्नुभयो, “गाउँमै पहिलो एसएलसी पास गर्ने इच्छाले म विद्यालय भर्ना भएकी हुँ ।” माइतीगाउँको बिच्छँयामा माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेको उहाँले बताउनुभयो । विवाह गरेर आएपछि उहाँको पढाइ बीचैमा छुट्यो ।

उहाँ भन्नुहुन्छ, “पहिला यहाँ प्राथमिक तहसम्म मात्र विद्यालय रहेको थियो । अहिले गाउँमै कक्षा ८ सम्म पढाइ हुने भएपछि पढ्ने रहर जाग्यो ।” निमकला कोटगाउँकी महिला स्वयंसेविकासमेत रहनुभएको छ । उहाँका तीन सन्तान छन् । जेठो छोरा ८, छोरी सुनकली ६ र कान्छो छोरा धनराज कक्षा ४ मा उक्त विद्यालयमा अध्यनरत छन् । रासस

प्रतिक्रिया