छोरी जन्माएकै निहुँमा सासुले जलाएकि छोरी ज्यूँदै लैजाने आशामा आएका बाबुको हातमा डेथ सर्टिफिकेट [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। पातलो शरीर, कालो वर्ण, झुस्स फुलेका दाह्री जुङ्गा। पहेँलो धोती र सेतो कुर्तामा गम्छा भिरेर घरि यता घरी उता गरिरहेका थिए, लोचन मण्डल। साँखुस्थित सुष्मा कोइराला मेमोरियल हस्पिटलको करिडोरमा उनी हात जोडेर बसिरहेका थिए। आँखा रसाउँदा गम्छाको फेर समात्थे र पुस्थे। बेलाबेला बर्बराउँथे अनि भक्कानिन्थे।

केहिबेरमा अस्पतालका कर्मचारीले उनलाई डाके र आइसियु नजिकको कोठामा लगे। ‘हामीले तपाईँकी छोरीलाई बचाउन सकेनौँ। धेरै ढिला भयो,’ डाक्टरले सुनाएलगत्तै उनी निशब्द भए। लोचन छोरी कञ्चनलाई लिएर सुष्मा कोइराला मेमोरियल अस्पताल आइपुगेको केही घण्टामात्र भएको थियो।

एम्बुलेन्समा बोलिरहेकी छोरी ‘रहिनन्’ भनेको सुन्दा उनको धैर्यताको बाँध टुट्यो। एम्बुलेन्समा साइरनको एकोहोरो आवाज बीच कञ्चन ‘ऐय्या ऐय्या’ भन्दै बर्बराएको सम्झिए। बेला बेला ‘पोल्यो पोल्यो’ भन्दै पीडाको बयान गरिरहेकी थिइन्। आफूले थुम्थुम्याउन बाहेक केही गर्न नसकेको भन्दै धिक्कारे।

करिडोरमा फर्किएर भक्कानिए। शान्त रहन कोशिश गरे। तर बुवाको मन कहाँ थामिन्थ्यो र? केहिबेरमा अस्पतालका निलो युनिफर्म लगाएका एक कर्मचारी आए। मण्डललाई बोलाए। र, करिडोरसँगै रहेको एउटा कोठामा लगे। हातमा एउटा कागज थमाए।

मण्डलले सोधे – के हो यो? अस्पतालका कर्मचारीले भने – ‘अस्पतालले कञ्चनलाई उपचारका लागि हस्पिटल ल्याइएको थियो। उपचारको लागि हर प्रयास भयो। प्रयास गर्दागर्दै पनि ज्यान गयो। यसमा समय र ज्यान जानुको कारण लेखिएको छ। हामीले मृत शरीर तपाईँलाई हस्तान्तरण गरेका छौँ भनेर यसमा जनाएका छौं।‘

कर्मचारीले कागजमा हस्ताक्षर गर्न सुझाए – ‘यहाँ सही गर्नुपर्‍यो।‘ मण्डलले हस्ताक्षर गरे – ‘मैले छोरीको लास बुझेँ।’ ‘यो कागज पछि कानुनी काममा चाहिन्छ,’ अस्पतालका कर्मचारीले सम्झाए। रसाई रहेको आँखा पुछ्दै लोचनले कागजमा एकटक हेरे। कर्मचारीले हातै समाएर ल्याप्चे लगाउन सघाए – पालैपालो दाँया अनि बाँया।

बल्ल उनको बोली फुट्यो। भने, ‘जसको लौरो बलियो छ। त्यसको हातमा कानुन छ। अब हाम्रो लौरो यही कागज त होला नि।‘ श्रीमान बेछु मण्डल र सासुले झोसेको आगोमा ३० घण्टा संघर्ष गरिन् उनकी छोरी कञ्चनदेवी मण्डलले। वैसाख १२ गते। बिहानको ११ बजे आफ्नै घरमा मट्टितेल खनाएर आगो लगाएको बयान दिएकी थिइन्। प्रहरीले उद्धार गरेर धरानस्थित बीपी कोइराला चिकित्सा विज्ञान प्रतिष्ठान पुर्‍यायो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको थियो। दुर्भाग्यबस् काठमाडौं आइपुगेको चार घण्टा नबित्दै साँझ पाँच बजे उनको प्राण गयो। त्यसपछि भगवान पुकारी रहेका पिता लोचनले सरकार र प्रहरी पुकार्न थाले।

‘माथिबाटै केही गर्नुपर्छ। हाम्रो इलाका प्रहरीले त केही गर्दैन,’ उनले भने, ‘एउटा खसी काटिदिए कानुन त त्यही खसीसँगै चपाउँछन्।‘ कञ्चनको उद्धारमा खटेका काठमाडौंका विक्रम ओली नजिकै थिए। मण्डलको कुरा सुनिरहेका उनले भने, ‘हो, त्यहाँ त मान्छे मर्नु र मारिनु त चल्ला मारिनु सरह रहेछ। अब हामीले दवाव नदिइ हुँदैन।‘

कञ्चनलाई आगो लगाइएको खबर सार्वजनिक भएसँगै उनको उपचार र उद्धारका लागि खटेको थियो विक्रमको टोली अर्थात् फेसबुकको हन्ड्रेड्स ग्रुप। ओलीका अनुसार १२ गते राति नै काठमाडौं ल्याउने पूर्ण तयारी भए पनि कानुनी प्रक्रियाका कारण रोकियो।

‘धरान अस्पतालको डाक्टरले त जति सक्दो चाँडो लानुस् भनेको थिए,’ ग्रुपकै सिरहा सदस्य बब्लु गुप्ताले सुनाए, ‘तर, मान्छेको शरीरभन्दा महत्वपूर्ण त कागजी काम पो हुँदो रहेछ।‘ सुष्मा कोइराला मेमोरियल अस्पतालकै डाक्टर रोजिना शिल्पकारले अस्पताल ल्याइपुर्‍याउन ढिलो भएको बताइन्।

शरीरको ८५ प्रतिशत भाग डढेको थियो र पनि एम्बुलेन्समा बोलिरहेकी थिइन्। घटनाको बेलिबिस्तार लगाएकी थिइन्। घरिघरी निदाउँथिन् र आत्था भन्दै बिउँझन्थिन्।

‘उसलाई पोलेको देख्दा आफैलाई सहन गाह्रो भएको थियो। तर, मैले देखेको भन्दा बढी गाह्रो भएको रहेछ,’ बोली पूरा गर्न सक्दैनन् उनी। किनकि बोल्दै गरेकी छोरी यति चाँडै बित्लिन् भनेर उनले कल्पना पनि गरेका थिएनन्।

घटना भएको अघिल्लो दिन कञ्चनकी नन्द माइती आएकी थिइन्। उनले कोशेली ल्याइन् कुखुराको मासु। तर, माइतीमा दैनिक भान्सा सम्हाल्ने भाउजुलाई भनिन्- ‘म आफै पकाउँछु। तपाईँलाई दिन्न।‘

मण्डलले सुनाए अनुसार झगडाको निहुँ त्यति हो। ठीक भोलीपल्ट श्रीमान रक्सी पिएर आएका थिए। त्यहाँ अर्को रडाँको मच्चियो जुन सामान्य मान्दै आएको भनाभन् र घम्साघम्सीमै टुंगिएन। कञ्चनमाथि मट्टितेल छर्किइयो र आगो लगाइयो।

मण्डलले त्यति सुनाए जति छोरीले बयान दिइन् र गाडीमा सुनाइन्। सोही अनुरुप छानबिनका गरिरहेको छ जिल्ला प्रहरी कार्यालय सिराहा। प्रहरीले सासुलाई त नियन्त्रणमा लियो तर उनका पति बेछु फरार छन्, त्यो पनि डेढ वर्षे छोरी राधा च्यापेर।

एसपी जीवन श्रेष्ठले उनको खोजी कार्य जारी रहेको पहिलोपोस्टलाई बताएका छन्। एघार बजे घटना घट्यो। तीन बजे लोचनले खबर पाए। तर, आत्तिएर रुनु र कराउनुको विकल्प थिएन। गाउँको पूजाआजामा पुरेत भएर घर चलाउने उनका लागि धरान अस्पताल पुग्नै कठिन थियो। भने, ‘धन्न पुलिसले सहयोग गरे। वरपर सबैसँग सहयोग मागेर पच्चिस सय जुटाएर दिए।‘

दुई सय, तीन सय, पाँच सय जम्मा गरेर धरान पुगेका उनी छोरीको अवस्था देखेर आफै सम्हालिन सकेनन्। पहिलोपटक पढिरहेकी छोरीको विवाह गरिदिनु गलत निर्णय थियो भन्ने महसुस गरे।

तीन वर्षअघिको मात्र कुरा हो, कक्षा पाँचमा पढ्थिन् कञ्चनदेवी। १५ वर्षकी मात्र। घरबाट पाँच कोश टाढाको गाउँबाट विवाहको कुरा चल्यो। सानो परिवार। केटो पढेको थिएन, त्यसैले दाइजो दिन नपर्ने घर। लाग्यो, ‘छोराहरु त हुर्केपछि आफ्नो बाटो रोजी हाल्छन्। बरु छोरी चाहिँ अन्माइ हालुँ, ’ उनी पछुतो मान्दै टाउकोमा हात पुर्‍याउँछन् र भन्छन्, ‘गलत गरेछु। गलत।‘

उनका जेठो छोरो राजन १४ वर्षका भए र कान्छो करण १३ वर्षका। २०६४ सालमा करण जन्मिए र त्यसको ठीक चार महिनापछि लोचनकी श्रीमती बितिन्। त्यसयता तीन सन्तानलाई एक्लैले हुर्काएका छन्।

‘पाँच कोश मात्र टाढा पठाएको थिएँ। धेरै नै टाढा भइ,’ उनी एकोहोरो बोली रहन्छन्। कहिले बिहान छोरीलाई दुई गाँस खाना यही हातले खुवाएथेँ भनेर हात हेर्दै टोलाउँछन् त कहिले छोरीको अनुहार कस्तो भएर सुन्निएको थियो बयान गर्छन्।

पहिले दाइजोका कारण कुटपिट भएको, ज्युँदै जलाएको, माइत फर्काएको घटना सुन्दा झस्किन्थे। फेरि, आफ्नी छोरीको घरबाट त्यस्तो दवाव कहिल्यै नआएको सोच्दा केही राहत मिल्थ्यो। हुन पनि विवाहमै आफू खुशी दिएको कोठा र भान्साको सामान, छोरीका लागि ३० भर चाँदी र ३५ हजार रुपैयाँ बाहेक अरु केही मागेका थिएनन्।

छोरीले कहिल्यै परिवारबारे गुनासो गरिनन् पनि। के विषयले ज्यान नै जलाउनु पर्ने अवस्थामा पुर्‍यायो, उनी सोचमग्न छन्। उनलाई त अहेमदावादस्थित एक फ्याक्ट्रीमा काम गर्ने ज्वाइँ कहिले घर आएका थिए भन्ने समेत याद छैन।

बोल्दै गर्दा ज्वाइँ सम्बोधन गरेका उनी आफैलाई सच्याउँछन्- ‘त्यो ज्वाइँ होइन पशु हो।‘

अहिले उनलाई चिन्ता त नातिनी राधाको छ जसलाई लिएर बेछु भागेका छन्। ‘छोरीलाई त सक्कायो। त्यसले मेरो नातिनीलाई पनि लिएर गएको छ। भोकले रुन्छे होली, मार्छ कि राख्छ के थाहा?’

उनीसँगै आएका छिमेकी सन्तोष मण्डल र कञ्चनकी दुई माइजुतिर हेर्दै बोल्छन्। ‘हामी जसरी पनि आजै फर्किँनु पर्छ,’ उनी आफ्ना छोराहरु सम्झन्छन्, ‘एकान्तको घरमा दुई छोरा मात्र छन्। रिसिइबी फेर्न तिनलाई केही गरे भने?’

१८ वर्षीया छोरीको अन्त्यष्टि पशुपति आर्यघाटमा गर्न चाहन्छन्, मण्डल। तर, जिल्ला प्रहरीले मृत शरीर सिरहा नै ल्याउन भनेको छ। जसका लागि एक रात काठमाडौंमै रहन पर्ने भयो उनलाई। त्यसैले शरीर महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ। नियम, प्रक्रिया भनेर छोरी ल्याउन ढिला भएको क्रोध साम्य भएको थिएन, मृत्युको पीडा थपियो। त्यसमाथि अन्त्यष्टी अघि पनि पुन: नयाँ प्रकिया।

‘यत्रो गरेपछि दोषीले सजाय पाए त छोरीको आत्मलाई पनि पोल्न छाड्छ होला। तर, इन्साफ पाइएन भने?,’ उनी प्रश्न गर्छन्।

बाँकि हेर्नुहोस् भिडियोमा :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू