जङ्गलको राज चल्दैन, पार्टी फुटाएकै हुन्, म कति बिचरा भएको होला हेनुस् त : प्रधानमन्त्री (भिडियोसहित)

admin

काठमाडौं, ३ चैत : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका विरुद्ध आफूखुसी गुटगत भेला नगर्न/नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले आह्वान गरेको भेलामा सहभागी नहुन निर्देशन दिएका हुन् ।

उनले पार्टी भन्दा बाहिर गएर गुटगत भेला नगर्न पनि चेतावनी दिए । पार्टी विधि, विधानअनुसार चल्ने भन्दै ओलीले मनपरी गर्ने छुट कसैलाई नभएको बताए । कानुनका नजरमा सबै समान हुने भन्दै उहाँले निर्देशन विपरीत गुटगत भेला भएमा कारबाही हुन सक्ने सङ्केत पनि गरे ।

उनले भने, ‘भोली भेला आह्वान गरेको छ रे । नेकपा एमालेसँग आबद्ध नेता वा कार्यकर्ता गुटगत भेला नगर्ने–नगराउन, त्यस्ता भेलामा सरिक, सहभागी र नजान सम्पूर्ण नेता, कार्यकर्तालाई सजग–सचेत गराउन चाहन्छु । पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु र त्यस्ता गुटगत भेलामा सरिक नहुन पनि म तमाम कार्यकर्तालाई आग्रह गर्दछु । यस पार्टीमा कसैमाथि अन्याय हुँदैन ।’

‘जङ्गलको राज चल्दैन’
प्रधानमन्त्री ओलीले सडकमा विधि, विधानका कुरा गरेर नेता नेपाल पक्षले जङ्गलको राज गर्न चाहेको टिप्पणी गरे । लक्ष्मीप्रसाद देवकोटाको कविता जङ्गलको राजको प्रसङ्ग उल्लेख गर्दै उनले अब पार्टीभित्र अराजकता चल्न नदिने बताए ।

उनले पार्टीभित्र विचारमा एकताबद्ध भएर अनुशासित ढङ्गले काम गर्नुपर्नेमा जोड दिए । सत्य र अनुशासित समाज निर्माणका लागि एकताबद्ध, अनुशासित र गतिशील पार्टी हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिए ।

उनले भने, ‘जङ्गलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने ? लोकतान्त्रिक मूल्य-मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलब छैन । अहङ्कार, स्वेच्छाचारिता । अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरू भोलि राष्ट्रिय भेला बोलाउने, राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे । राष्ट्रिय भेलाबाट के-के समानान्तर कमिटी बनाउने अरे । समानान्तर होइन अर्को कमिटी बन्ला । कसैले पनि अर्को कमिटी बनाउँछ कि, पार्टी बनाउँछ कि, त्यो त के गर्न सकिन्छ ? तर यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता, अनुशासनहिनता, उच्छृङ्खलताजस्ता कुरा, विधि–विधान विपरीतका काम कारबाही, पार्टीको एकता विरोधी क्रियाकलापमा छुट हुने छैन । ती कुराहरू मान्य हुन सक्तैन । त्यस्ता कुरालाई हामी सहेर बसिरहन सक्तैनौँ । पार्टीलाई पार्टीको रूपमा चल्न नदिने, भाँडभैलो मच्चाउने । जहिले पनि भाँडभैलो मच्चाउने कुरा चाँहि हुन सक्तैन ।’

‘आत्मालोचना’
आफूहरूले पराकिलो सोच राखेको भन्दै उनले आत्मालोचनासहित पार्टी एकताको पक्षमा उभिन नेपाल समूहलाई आग्रह गरे । उनले विगतामा जस्तै तमासा गर्ने कुरा अब पार्टीभित्र नचल्ने भन्दै चेतावनी दिए ।

उनले भने, ‘ठूला-ठूला अपराध भएका छन् तर पनि हामीले फराकिलो बुझाइ लिएका छौँ । लिन्छौ फेरि पनि । एकदम अपराध गर्नेहरूलाई पनि स्वागत छ त म भन्दिनँ तर स्वीकार्छौँ हामी । पार्टीमा आउन पाइन्छ, काम गर्न पाइन्छ । आत्मालोचना गरेर सच्चिएर काम गर्नुपर्छ । हामी स्वीकार्छौँ तर फेरि उही सिलसिला चाँहि चल्दैन । हिजोकै झैँ तमाासा गर्ने, जगहसाइँ गर्ने अनि सञ्चारमाध्यमलाई खेती दिने, बिजनेस दिने । त्यो खालको कुरा हुन सक्तैन ।’

‘राम्रो लक्षण देखिएन’
प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षले आह्वान गरेको चियापानमा सरिक नभएर नेपाल पक्षका नेता तथा कार्यकर्ताले राम्रो नगरेको भन्दै उनले भने, ‘एकथरि अनुहारहरू देखिएन आज, यो राम्रो लक्षण होइन । उनले नेता नेपाल समूहले (भोलि) बुधबारका लागि आह्वान गरेको भेलालाई आफूले हेरिरहेको भन्दै धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने नसोच्न चेतावनी दिए ।

उनले भने, ‘एकथरि अनुहारका साथीहरू चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो अरे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा पाए जानुहुन्छ ? पार्टी अध्यक्षको प्रधानमन्त्रीको निमन्त्रणामा नजाने कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ तर नभनौँ । थाहा त छ नि सबैलाई कसको निम्ता पाए जानुहुन्छ भनेर ? एकथरि अनुहारहरू देखिएन आज, राम्रो लक्षण होइन । कुनै कारणवस आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरूले त्यस्तो निर्णय गर्नुभयो भन्ने होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरू र कति तमासा गर्नुहुन्छ । एक नजर चाँहि त्यता राखेको छु । पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन । पार्टी विधि, विधान र तरिकाअनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसँग नलड्ने, निहुँ खोजुवाहरूसँग नझुक्ने । हाम्रो नीति त्यही हो ।’

‘सभामुख जिम्मेवार हुनुभएन’
प्रधानमन्त्री ओलीले मुद्दा लडेर प्राप्त गरेको प्रतिनिधि सभा बैठक पनि सञ्चालन गर्न नदिएबाट प्रतिनिधि सभा विघटन गर्नुको औचित्य पुष्टि हुँदै गएको बताए । मुद्दा लडेर फिर्ता ल्याएको संसद् आफैले चल्न नदिने ,आफै बहिष्कार गर्ने, व्यवधान खडा गर्ने र आफै बेलमा गएर नारा लगाउने स्थिति देखिएको भन्दै ती कार्यले सरकारलाई पनि संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्न नदिएको टिप्पणी प्रधानन्त्रीले गरे ।

उनले भने, ‘अधिवेशन प्रारम्भ भएको पहिलो दिनको बैठकमा नै अध्यादेश प्रस्तुत गर्नपर्छ संविधानअनुसार । त्यो सरकारलाई प्रस्तुत गर्न दिइएन । अथवा संविधान कार्यान्वयन गर्न दिइएन । संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो । कार्यसूची बदलेर सभामुखजीले मन्त्रीजी, एकछिन पख्नुहोस् भनेर रोकेर पछि एकछिन स्थगित भनेर फेरि एकछिनपछि अर्को दिनलाई सर्‍यो भनेर संविधानले पहिलो दिन नै पेस गर्नुपर्ने संवैधानिक दायित्व पनि सरकारले पूरा गर्न पाएन । त्यो जिम्मेवारीबाट सरकारलाई व्यवधान खडा गरेर बञ्चित गरियो ।’

प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाले पनि संविधान कार्यान्वयनप्रतिको जिम्मेवारी पूरा नगरेको दाबी गरे । आफूले सधैँ संसद्लाई नेताहरूको स्वार्थ तथा दलीय र गुटगत खिचातानीको थलो नभइ नागरिकको हितका लागि प्रयोग गरौँ भन्दै आएको भए पनि संसद्लाई त्यो ढङ्गले चलाउन नदिएको दाबी उनले गरे ।

उनले भने, ‘संविधानको कार्यान्वनयनप्रति सभामुखको जुन प्रतिबद्धता हुन पर्थ्यो । संविधान कार्यान्वयनप्रति उहाँको जुन कर्तव्य थियो, त्यसभन्दा पर भिन्न प्रकारका सहमति, भिन्न प्रकारका शेटिङबाट संविधानको कार्यान्वन हुन नदिनु, अझ एसिड आक्रमणका विरुद्ध, त्यो पर्खिरहन नहुने, कडा कानुन ल्याउनुपर्ने पीडितहरूको माग, सम्पूर्ण महिला समुदायको मागअनुसार कडा कानुन ल्याउनुपर्ने माग र संसदबाट कानुन ल्याएर प्रक्रियाबाट जाँदाखेरी तुरुन्तै गर्नुपर्ने कुरालाई ध्यानमा राखेर अध्यादेश ल्याइएको थियो । त्यो पेस गर्न दिइएन भनेपछि संसद्लाई कति कामकाजी, कति प्रभावकारी बनाउन खोजिएको रहेछ भन्ने त्यसबाट स्पष्ट हुन्छ । संसद्लाई निष्प्रभावी बनाउने चेष्टा भइरहेको छ ।’

‘पार्टी फुटाएकै हुन्’
उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विधि र पद्धति भन्दा बाहिर गएर पार्टी फुटाउने काम गरेको दाबी गरे । उनले भने, ‘एक ढङ्गले पार्टी फुटाइएको थियो । अध्यक्ष निष्कासन गरिएको थियो । महासचिव निष्कासन गरिएको थियो । संसदीय दलको नेताबाट हटाइएको थियो । कहाँबाट हटाएको हो रु बाटाबाट हटाएको । उहाँहरू पद्धति, विधिअनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि पुराइदिनुहुन्छ । बाटैमा पद्धति पुराइदिनुहुन्छ । बाटैमा विधान पुराइदिनुहुन्छ । बाटैबाटैबाट अध्यक्ष हटाइ दिनुभयो । बाटैबाटैबाट दलको नेता हटाइ दिनुभयो । बाटैबाटैबाट दलको उपनेता हटाइ दिनुभयो । बाटैबाटैबाट अनेक आदेश फरमानहरू.. म त कति विचरा भएको हुँला हेर्नुहोस् त ? म त साधारण सदस्यताबाट पनि निष्कासित । तपाईँहरू त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यताबाट पनि निष्कासित । बाटैबाटैको विधि पद्धतिअनुसार ।’

प्रतिक्रिया