जता हावा बग्छ त्यतै बरालिने लोकतन्त्र होइन : प्रधानमन्त्री

admin

काठमाडौं, ३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधान सबै अट्ने गतिशील दस्तावेज भएकाले त्यसमा केही आशंका र अस्पस्टता भए हटाउन सरकार तयार रहेको बताएका छन् ।

‘संविधान सबै अट्ने गतिशील दस्तावेज भएकाले त्यसमा केही आशंका र अस्पस्टता भए हटाउन सरकार तयार छ’, प्रधानमन्त्रीको भनाइ छ । संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा सरकारले गरेका कामकारवाहीको प्रस्तुति दिएका प्रधानमन्त्री ओलीले लोकतन्त्र निरंकुश तन्त्रको विकल्प भएकाले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै कसैकसैले सरकार र सत्तारुढ दलको लोकतन्त्रप्रतिको निष्टाका बारेमा गरेको आशंका र भ्रमबाट विस्मित हुने गरेको बताए ।

‘जता हावा बग्छ त्यतै बरालिने लोकतन्त्र होइन । लोकतन्त्र विधिको शासन हो । मर्यादित र अनुशासिन प्रणाली हो’,प्रधानमन्त्रीको भनाइ छ । उनले लोकतन्त्रमा आमसञ्चारमाध्यमहरुको भूमिका महत्त्वपूर्ण हुने भन्दै सञ्चारमाध्यमहरु व्यवसायिक बन्न नसकेको गुनासो गरे ।

प्रधानमन्त्री ओलीले बौद्धिक जगतले बाटो बिराउन वा अल्मलिन नमिल्ने भन्दै संकटका बेला हल्लाहरुले मानिसको मन दुखित तुल्याउने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

कोरोना भाइरसका कारण अन्य मुलुकमा आर्थिक वृद्धिदर नकारात्मक भएपनि नेपालमा सकारात्मक रहेको भन्दै उनले कोरोना नियन्त्रणमा आएपछि मुलुकको आर्थिक अवस्था विस्तारै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे ।

उनले कोरोना महामारी रोकथामका लागि सरकारले गरेको काम उत्साहजनक भएको भन्दै नेपालमा कोरोनाको पहिलो केस पहिचान हुँदा परीक्षण गर्न विदेशमा नमुना पठाउनु परेको स्मरण गरे ।

तर, अहिले ४७ वटा प्रयोगशाला विस्तार गरेर प्रतिदिन २३ हजारसम्म परीक्षण गर्न सकिने अवस्थामा पुग्नु सरकारको सफलता रहेको दावी गरे । प्रधानमन्त्रीले पहिलोपटक चैत ११ गतेपछि लकडाउन गरेयता जनजीवन सामान्य हुन नसकेको भन्दै त्यसका कारण विकास निर्माणका धेरै कामहरु सम्पन्न हुन नसकेको पनि बताए ।

छैठौं संविधान दिवसका अवसरमा शान्तिका प्रतिक ६ जोडी परेवा पनिउडाइएको थियो । कार्यक्रममा नेपाली सेनाले विभिन्न व्याण्डबाजासहित राष्ट्रिय धुनहरु बजाएको थियो ।

नेपालको राष्ट्यि झण्डा झण्डोतोलन गरेर सुरु भएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, समाभुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो भने नेपाली सेनाको २ हेलिकोप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ अंकित व्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएको थियो ।

प्रतिक्रिया