जति म्याद थपे पनि बन्दैनन् सडक

admin

काठमाडौं , साउन १५ : लगनखेलबाट सातदोबाटोसम्मको दूरी ०.८ किलोमिटर छ। अर्थात् एक किलोमिटर पनि छैन। त्यही टुक्रे खण्डको सडक विस्तार गर्न २०७३ जेठ २६ गते ठेक्का लगाइयो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । म्याद दिइयो १६ महिना (३०७४ असोज २७ सम्म)। म्याद सकिँदा कामको मेलै सरेन। फेरि म्याद थपियो। सरकारकै आँकलनअनुसार ३ वर्ष २ महिनामा बल्ल त्यहाँ ५० प्रतिशत काम सकिएको छ।

सरकार ठेक्का लगाउँछ। ठेकेदार समयमा काम सक्दैनन्। सरकार म्याद थपिदिन्छ। ठेकेदार फेरि पनि काम सक्दैनन्। सरकार फेरि पनि म्याद थपिन्छ। तर निर्माण कार्य अझै अघि बढ्दैन। यस्तै प्रवृत्तिले चार वर्षअघि काम सुरु भएका उपत्यकाका कुनै पनि सडकको काम पूरा भएको छैन। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चार वर्षअघि ९ वटा सडक खण्ड विस्तार थालेको थियो। अहिलेसम्म सडकमा प्रगति न्यून छ।

आयोजनाले काम थालेको सडक खण्डमा जोरपाटी-सुन्दरीजल, नख्खु-भैंसीपाटी-बुङ्मती, ढोलाहिटी-सुनाकोठी-चापागाउँ-लेले-तिलेश्वर- सरस्वतीकुण्ड, पेप्सीकोला-काँडाघारी, कर्मनासा-हरिसिद्धि-गोदावरी, इमाडोल-गोदावरी, लगनखेल-सातदोबाटो, चाबहिल-जोरपाटी-साँखु, त्रिपुरेश्वर-कलंकी-नागढुंगा छन्। यीमध्ये अहिलेसम्म एउटा सडकको पनि काम सकिएको छैन।

ढोलाहिटी-सुनाकोठी-चापागाउँ-लेले-तिलेश्वर-सरस्वतीकुण्ड, पेप्सीकोला-काँडाघारी, कर्मनासा-हरिसिद्धि-गोदावरी र जोरपाटी-सुन्दरीजल सडकको २० प्रतिशतभन्दा काम हुन सकेको छैन। चारवटै सडकको काम मुआब्जा विवादले नसकिएको आयोजनका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले बताए। ‘सबै सडकमा स्थानीयले मुआब्जा माग गरेर विरोध जनाएका छन्,’ उनले भने, ‘स्थानीयको अवरोधका कारण काममा प्रगति कम देखिएको हो।’

जोरपाटी-सुन्दरीजल सडकको काम १० प्रतिशत सकिएको छ। यो सडकको विस्तार सम्झौता २०७३ असारमा भएको थियो। सम्झौताअनुसार एक वर्षमा काम सक्ने गरी आशिष, सीएमजेभी निर्माण कम्पनीले ठेक्का लिएको थियो। तर काम नसकिएकाले ठेकेदारले अहिलेसम्ममा तीनपटक म्याद थपेका छन्। ढोलाहिटी-सरस्वतीकुण्ड सडकमा तीन खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। यो सडकको पनि १८ प्रतिशत मात्र काम भएको छ। यसको आधा खण्डको निर्माण ठेक्का लिएको दिवा, शैलुङ जेभी र कन्टेक प्रालिले तीनपटक र अर्को आधा खण्डमा पप्पु महालक्ष्मी वल्डवाइड जेभीले दुईपटक म्याद थपेका छन्।

प्रतिक्रिया