जनताको स्वास्थ्य जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल

राष्ट्रिय समाचार समिति

घोडाघोडी, २० फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यको जिम्मा सरकारले लिने बताउनुभएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका–२ चौमालामा आजबाट नगरपालिकाको आयोजनामा शुरु भएको स्वास्थ्य महोत्सवको उद्घाटन समारोहमा मन्त्री ढकालले सरकार जनताको स्वास्थ्यका विषयमा निकै गम्भीर भएको बताउनुभयो ।

मन्त्री ढकालले औषधि खरिद प्रक्रियामा देखिएको अनियमितता रोक्न आफूले पहल गरेको बताउनुभयो । उहाँले औषधि खरिद तिन तह मध्ये जुनसुकै सरकारले गरे पनि मूल्यमा फरक नपर्ने गरी खरिद हुने प्रक्रियाको थालनी गरेको बताउनुभयो ।

मन्त्री ढकालले सरकारी अस्पतालको सेवा सुविधाका विषयमा केही समयसम्म व्यापक गुनासो आउने गरेको भए पनि अहिले गुनासोमा कमी आएको बताउनुभयो । तर अझै पनि कतिपय सरकारी अस्पतालका चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा निजी क्लिनिकमा मात्र पाइने औषधि सिफारिस गर्ने गरेको सुन्नमा आएकोले त्यस्तो गर्ने चिकित्सकलाई सरकारले कारवाही गर्ने बताउनुभयो ।

मन्त्री ढकालले कोरोना भाइरसवाट आजका दिनसम्म नेपाल मुक्त रहेको तर सावधानी अपनाएर बस्नुपर्ने बताउनुभयो । स्वास्थ्य महोत्सव २४ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीयले निःशुल्क विशेषज्ञ सेवा प्राप्त गर्ने गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले बताउनुभयो ।

प्रतिक्रिया