जबर्जस्ती करणीका अधिकांश पीडक पक्राउ

रिता घिसिंग

चितवन, १२ फागुन (रासस) : जिल्लामा भएका जबर्जस्ती करणीका अधिकांश पीडकहरु पक्राउ गर्न प्रहरी सफल भएको छ । जबर्जस्ती करणीका घटना बढ्दै गएपछि त्यस्ता अपराधी माथि तत्काल निगरानी गरी अनुसन्धान तीब्र गर्ने गरेकाले पीडक पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार साउनयता जिल्लामा जबर्जस्ती करणीका ३१ घटना भएका छन् । यी घटनामा ३७ जना पीडक पक्राउ परेका छन् । गत महीना भएको एक घटनाको जानकारी दुई दिनपछि आएकाले दुईमध्ये एक जना पक्राउ पर्न नसकिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्षमा एक जनाबाहेक अरु सबै पीडकलाई पक्राउ गरी कारवाही गरिएको छ । फरार एक जनाको खोजी कार्य तीब्र पारिएको उहाँले बताउनुभयो ।

जिल्लामा गतवर्ष ५५ वटा जबर्जस्ती करणीका घटनामा ६६ जना पक्राउ परेको र सात जना फरार रहेको प्रहरीले जनाएको छ । यस वर्ष पक्राउ परेकाहरु १६ वर्षदेखि ४० वर्ष उमेर समूहका धेरै रहेका छन् ।

घटनाका पीडकहरु चिनजानका बढी भएको तथ्याङ्कले देखाएको छ । पक्राउ परेकामध्ये चिनजानका २१ जना, आफन्त नौ जना र अपरिचित दुई जना रहेका छन् ।

प्रहरीले यसै अवधिमा जबर्जस्ती करणीको उद्योगमा सातवटा घटनामा सात जनालाई पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा जबर्जस्ती करणीमा पक्राउ परेकामध्ये २५ जना पूर्पक्षका लागि थुनामा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया