जम्बु र भोटेकोशी बाढी, मृ’तकको पहिचान खुल्यो

admin

चौतारा, २५ असार : गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका-५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको श’व फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए ।

घटनामाा १८ जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरी सूचना अधिकारी काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् । जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट राजधानी लाने प्रयास भइरहेको छ ।

त्यसै गरी भोटेकोशी गाउँपालिका-५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चार जना बेपत्ता भएका छन भने दुई जना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

बाढीले त्यहाँस्थित सानो पुलेसा (कल्भर्ट) समेत बगाएको छ । बाढीले धनजनको ठूलो क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टरमार्फत बिहीबार बिहान घटनास्थल जान लाग्नु भएकामा प्रतिकूल मौसमका कारण धुलिखेलबाट नै फर्किनुपरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया