जसपाबाट प्रतिनिधित्व गर्ने लुम्बिनीका तीन सांसद पदमुक्त

admin

काठमाडौं, १५ साउन : लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना निकालेर जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएका जानकारी गराएको हो । जसपा केन्द्रीय कार्यालयको निर्णयअनुसार तीन वटा पद मुक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

उनीहरू तीनै जना मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारमा मन्त्री हुन् । उनीहरूलाई जसपाले मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो । पार्टीको निर्देशन नमानेको र प्रदेश सभामा पनि ह्विप नमानेको भन्दै जसपाले कारबाही गरेको हो । यसअघि पनि उनीहरूमाथि कारबाही भएकोमा सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो ।

त्यस बेला जसपा अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेकामा अहिले निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको छ । यस पटक जसपाले चार जनालाई स्पष्टीकरण सोधेकोमा सुमन शर्मा रायमाझीले आत्मालोचनासहित मूल पार्टीमै बस्ने प्रतिबद्धता व्यक्त गरेपछि तीन जनालाई मात्र कारबाही गरिएको जसपाले जनाएको छ ।

प्रतिक्रिया